Headline

बेंगलोरको लज्जास्पद हार, कोहलीको खराब फर्म जारी 

Published

on

२० वर्षीय ब्याटर रियान परागको अर्धशतक तथा कुलदिप सेन र रविचन्द्रन अश्विनले घातक बलिङ गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्ससँगको खेलमा २९ रनको लज्जास्पद हारको सामना गरेको छ ।  

आजको खेलमा बेंगलोर माथि जित निकाल्दै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ खेल खेलेको राजस्थान ६ जितका साथ १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको हो । एक खेल कम खेलेको गुजरातको पनि समान १२ अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान पहिलो र गुजरात दोश्रो स्थानमा रहेका हुन् । नौ खेल खेलेको बंगलोरको यो चौथो तथा लगातार दोश्रो हार हो । 

१४५ रनको सामान्य लक्ष्य पछ्याएको बेंगलोरले १९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर ११५ रन मात्र जोड्न सक्यो ।

बेंगलोरलाई सस्तोमा रोक्ने क्रममा कुलदिप सेनले सर्वाधिक चार विकेट लिँदा रविचन्द्रन अश्विनले तीन तथा प्रशिद कृष्णाले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । कुलदिपले तीन दशमलब तीन ओभरमा २० रन खर्चिए भने चार ओभरमा अश्विनले मात्र १७ रन दिए ।    

बेंगलोरको तर्फबाट कप्तान तथा ओपनर फाफ डु प्लेसिसले २३ रन बनाए भने वानिन्दु हसरंगाले १८, शहबाज अहमदले १७ तथा रजत पटिदारले १६ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

खराब फर्मबाट गुज्रिरहेका बेंगलोरका कप्तान विराट कोहलीले नौ रन भन्दा जोड्न सकेनन् भने ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुन पुगे । यस अघिका दुई खेलमा लगातार गोल्डेन डकआउट भएका कोहली आज ओपनिङमा ब्याटिङ गर्न आए पनि दुई अंकको स्कोर पनि बनाउन सकेनन् । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १४४ रनको सामान्य योगफल भन्दा जोड्न सकेन । 

मध्यम सुरुवात गरेको राजस्थानको लागि अविजित रहेका रियान परागले ३१ बलमा सर्वाधिक ५६ रनको योगदान दिए । खेलको प्लेयर अफ द म्याच घोषित भएका परागले तीन चौका र चार छक्का प्रहार गरे । 

पराग बाहेक कप्तान सन्जु सामसनले २७, रविचन्द्रन अश्विनले नौ बलमा १७ तथा ड्यारेल मिचेलले १६ रनको योगदान दिए भने शिम्रोन हेटमायरले तीन रन भन्दा जोड्न सकेनन् ।

 बेंगलोरका जश हेजलउड, वानिन्दु हसरंगा र मोहम्मद सिराजले समान २-२ विकेट हात पारे ।  

 

Click to comment

Trending