Headline

पाँच पटकको आईपीएल च्याम्पियन मुम्बईको हारको सिलसिला कायमै 

Published

on

लखनउ सुपर जायन्ट्का कप्तान केएल राहुलले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोश्रो शतक प्रहार गर्दा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लगातार आठौँ खेलमा हारको सामना गरेको छ । आठ खेल खेल्दा आठवटामा नै पराजय भोगेको मुम्बई लखनउसँग ३६ रनले पराजित हुन पुग्यो ।

आजको खेलमा जित निकाल्दै लखनउ आठ खेलमा पाँच जित र तीन हार सहित १० अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ । गुजरात १२ अंक सहित पहिलो स्थानमा छ भने एक एक खेल कम खेलेका हैदराबाद र राजस्थान समान १० अंक नै रहे पनि नेट रन रेटका आधारमा क्रमश दोश्रो र तेश्रो स्थानमा रहेका छन् । अंक जोड्न नसकेको मुम्बई अंक तालिकाको पुछारमा रहेको छ ।

फेरी पनि ब्याटरहरु चल्न नसक्दा १६९ रनको मध्यम लक्ष्य पछ्याएको मुम्बईले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो ।

मुम्बईका कप्तान रोहित शर्माले ३९, तिलक वर्माले ३८ तथा कायरन पोलार्डले १९ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस सिजन सबैभन्दा महँगो रकममा बिकेका ओपनर तथा विकेट किपर इशान किशानले २० बल खेल्दै आठ रन जोडे भने बेबी एबीका नामले परिचित डेवाल्ड ब्रेविसले तीन रन मात्र जोड्दै पेभेलियन फर्किए ।

लखनउको तर्फबाट कुर्नाल पान्ड्याले चार ओभरमा १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने मोहसिन खान, जेसन होल्डर, रवि बिश्नोई र आयुष बदोनीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । निकै किफायती बलिङ गरेका दुश्मन्था चमिराले विकेट निकाल्न नसके पनि चार ओभरमा १४ रन मात्र खर्चिए ।

यस अघि कप्तान केएल राहुलको शतकको मद्दतमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६८ रनको मध्यम योगफल खडा गर्यो ।

लखनउको लागि खेलको प्लेयर अफ द म्याच घोषित राहुलले ६२ बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा अविजित १०३ रनको पारी खेले । जारी सिजन राहुलको मुम्बई विरुद्ध दोश्रो तथा समग्रमा तेश्रो शतक हो । उनले यस अघि पहिलो लेगमा पनि मुम्बई विरुद्ध अविजित रहँदै १०३ रनको पारी नै खेलेका थिए ।

राहुल बाहेक लखनउको लागि मनिष पाण्डेले २२, आयुष बदोनिले ४ तथा दिपक हूडाक्विन्टन डि ककले समान १०-१० रनको योगदान दिए ।

कायरन पोलार्डले दुई ओभरमा आठ रन तथा रायली मेरेडिथले ४० रन खर्चिएर समान २-२ विकेट लिए भने ड्यानियल साम्स र जस्प्रित बुम्राले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Click to comment

Trending