Headline

बेंगलोरको लज्जास्पद हार, कोहली लगातार दोश्रो खेलमा गोल्डेन डक-आउट  

Published

on

मार्को यानसन र टि नाटराजनले घातक बलिङ गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादसँगको खेलमा नौ विकेटको लज्जास्पद हारको सामना गरेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले १६ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो भने हैदराबादले आठ ओभर खेल्दै एक विकेट गुमाएर जित हात पर्यो ।

बेंगलोरलाई सानो योगफलमा समेट्ने क्रममा यानसननाटराजनले समान ३-३ विकेट लिए भने जगदिश सुचितले दुई तथा भुवनेश्वर कुमार र उमरान मलिकले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । नाटराजनले तीन ओभरमा १० रन मात्र खर्चदा यानसनले चार ओभरमा २५ रन खर्चिए । 

खेलको प्लेयर अफ द म्याच घोषित यानसनले एकै ओभरमा ओपनर तथा कप्तान फाफ डु प्लेसिस (पाँच), विरट कोहली (गोल्डेन डकआउट) र ओपनर अनुज रावत (दुई बलमा डक आउट) को विकेट निकाल्दै हैदराबादलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

बेंगलोरको तर्फबाट सुयश प्रभुदेसाईले १५ र ग्लेन म्याक्सवेलले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पूर्व कप्तान विराट कोहली लगातार दोश्रो खेलमा गोल्डेन डक आउट हुन पुगे । कोहली यस अघि लखनउ विरुद्धको खेलमा पनि गोल्डेन डक आउट भएका थिए ।

६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादको जितमा ब्याटिङ तर्फ ओपनर अभिषेक शर्माले २८ बलमा ४७ रन बनाए भने कप्तान केन विलियमसनले पनि १६ रनको योगदान दिए ।  

 

Click to comment

Trending