Headline

बटलरको कीर्तिमानी शतकमा राजस्थान अंक तालिकाको शीर्ष स्थानमा 

Published

on

ओपनर जस बटलरले लगातार दोश्रो र जारी सिजनको तेश्रो शतक प्रहार गर्दा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्स माथि १५ रनको रोमान्चक जित दर्ता गराएको छ । जितसँगै राजस्थान इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सात खेल खेलेको राजस्थान पाँच जित सहित १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान १०-१० अंक रहे पनि एक खेल कम खेलेको गुजरात र बेंगलोर नेट रन रेटका आधारमा दोश्रो र तेश्रो स्थानमा रहेका छन् । आजको खेलमा पराजित हुँदा छैटौँ स्थानमा रहेको दिल्लीकोको तेश्रो स्थानमा उक्लने सपनामा तुसारोपात लाग्यो ।  

बटलरको शतक तथा देवदत्त पड्डीकलको अर्धशतकको मद्दत राजस्थानले २० ओभरमा दुई विकेट गुमाएर २२२ रनको विशाल योगफल बनायो भने जबाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर २०७ रन भन्दा जोड्न सकेन ।

राजस्थानको जितमा खेलको प्लेयर अफ द म्याच घोषित बटलरले ६५ बलको सामना गर्दै नौ चौका र उतिनै छक्काको  मद्दतमा ११६ रनको आक्रामक पारी खेले । जारी आईपीएलमा बटलरको यो तेश्रो शतक हो । उनले यस अघि मुम्बई विरुद्ध १०० तथा अघिल्लो खेलमा कोलकाता विरुद्ध १०३ रनको पारी खेलेका थिए ।

आजको खेलमा शतक प्रहार गर्दा बटलरले आईपीएलमा लगातार दुई शतकीय पारी खेल्ने शिखर धवनको किर्तिमानको बराबरी गरे भने आईपीएलको एकै सिजनमा धेरै शतक प्रहार गर्ने खेलाडीको दोश्रो स्थानमा पनि उक्लन सफल भए । एकै सिजनको आईपीएलमा बेंगलोरका पुर्व कप्तान विराट कोहलीले सन् २०१६ को संस्करणमा चार शतक प्रहार गरेका थिए । त्यस्तै एकै सिजनको आईपीएलमा तीन वा त्यो भन्दा बढी शतक प्रहार गर्ने खेलाडीको सूचीमा विराट र बटलर मात्र रहेका छन् ।

 बटलर बाहेक पड्डीकलले ३५ बलमा सात चौका र दुई छक्का सहित ५४ रन बनाएर पेभेलियन फर्किए भने अविजित रहेका कप्तान सन्जु सामसनले आक्रामक पारी खेल्ने क्रममा १९ बलमा पाँच चौका र तीन छक्का सहित अविजित ४६ रन बनाए ।

दिल्लीलाई रोक्ने क्रममा राजस्थानका प्रशिद कृष्णाले चार ओभरमा २२ रन दिएर सर्वाधिक तीन विकेट लिए भने रविचन्द्रन अश्विनले पनि दुई विकेट हात पारे ।

दिल्लीको लागि कप्तान ऋषभ पन्तले २४ बलमा ४४, ओपनर पृथ्वी श र ललित यादवले समान ३७ रन, रोवमन पावेलले १५ बलमा ३६ तथा डेविड वार्नरले १४ बलमा २८ रनको आक्रामक पारी खेले पनि जितका लागि पर्याप्त रहेन ।

दिल्लीलाई अन्तिम ओभरमा जितका लागि ३६ रन आवश्यक रहेको अवस्थामा पावेलले पहिलो तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै केही आशा जीवितै राख्न सफल रहे पनि त्यस पछिका बाँकी तीन बलमा दुई रन जोड्दा एक विकेट गुमाए पछि राजस्थानको जित सुनिश्चित बन्यो ।  

Click to comment

Trending