Headline

युवा अलराउण्डर वसिर पहिलो पटक राष्ट्रिय टोलीमा, ज्ञानेन्द्रलाई फेरी पनि विश्राम 

Published

on

यु १९ टोलीका अलराउण्डर वसिर अहमद पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल हुँदा ज्ञानेन्द्र मल्ललाई फेरी पनि विश्राम दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिना जिम्बाब्वे ए ले गर्ने नेपाल भ्रमणको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा वसिरले पहिलो पटक टोलीमा स्थान बनाएका हुन्को भने लगातार दोश्रो पटक ज्ञानेन्द्रलाई विश्राम दिइएको छ । 

यस अघि घरेलु मैदानमा नै सम्पन्न पिएनजी विरुद्धको दुई खेलको एकदिवसीय शृंखला तथा नेपाल, मलेसिया र पिएनजी बीचको ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखलाका लागि विश्राम दिइएको नेपाली टोलीका पुर्व कप्तान ज्ञानेन्द्रलाई जिम्बाब्वे विरुद्धको ५० ओभर र ट्वान्टी ट्वान्टी शृंखलाका लागि पनि विश्राम दिने निर्णय क्यानले गरेको छ ।  

बायाँ हाते स्पिनर र मध्यक्रमका ब्याटर वसिरले गत डिसेम्बरमा युएईमा सम्पन्न यु१९ एसिया कप छनोट खेलेका थिए । हालै भैरहवामा सम्पन्न नेपाल प्रो क्लब च्याम्पियनसिपको प्लेयर अफ द सिरिज चुनिएका उनले पाँच खेल खेल्दा १० विकेट हात पार्नुको साथै ११९ रन पनि जोडेका थिए ।

वसिर बाहेक ओपनर सुनिल धमला, तीब्र गतिका बलर किशोर महतो र विकेट किपर ब्याटर विनोद भण्डारीलाई पनि २३ सदस्यीय टोलीमा समावेश गरिएको छ । 

जिम्बाब्वेसँगको शृंखलाका लागि ५० ओभर र २० ओभरको भनेर टोली छुट्टाइएको छैन । २३ मध्य जो कुनैले पनि अन्तिम ११ मा स्थान बनाउन सक्ने छन् ।     

आगामी जुन र जुलाईमा नेपालले विश्वकप लिग टु अन्तर्गतका शृंखलाका लागि क्रमश अमेरिका र स्कटल्याण्डको भ्रमण गर्नेछ । जिम्बाब्वे ए सँगको शृंखला लिस्ट ए र ट्वान्टी ट्वान्टी मान्यता नपाउने भएकाले यो विशुद्ध अभ्यास खेल मात्र रहने छ ।    

नेपाल र जिम्बाब्वे ए बीचको एकदिवसीय खेल अप्रिल ३०, मे २ र मे चारमा तथा ट्वान्टी ट्वान्टी खेल मे ६, ७ र ९ तारिकमा टियु क्रिकेट मैदानमा आयोजना हुनेछ ।

नेपाली टोली : सन्दिप लामिछाने (कप्तान), दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित कुमार पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, वसिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला 

जिम्बाब्वे ए टोली : जोनाथन क्याम्पबेल, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा

 

Click to comment

Trending