Headline

धोनी दिलाए चेन्नाईलाई सनसनीपूर्ण जित, लगातार सात खेल हार्दा मुम्बईको प्ले अफको सम्भावना लगभग समाप्त 

Published

on

पुर्व कप्तान तथा विकेट किपर महेन्द्र सिंह धोनीले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दा चेन्नाई सुपर किंग्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स माथि तीन विकेटको सनसनीपूर्ण जित हात पारेको छ । 

अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि १७ रन आवश्यक रहेको थियो । पहिलो बलमा नै ड्वेन प्रेटोरियसको विकेट निकाल्दै जयदेव उनादकटले मुम्बईलाई खेलमा हाबी बनाए । तर अन्तिम चार बलमा जितका लागि चेन्नाईलाई १६ रन आवश्यक रहेको अवस्थामा धोनीले क्रमश छक्क, चौका, दुई रन र चौका प्रहार गर्दा मुम्बईको जारी सिजनमा पहिलो जित दर्ता गर्ने सपना चकनाचुर भयो ।

लगातार सात खेलमा सातौँ हारको बेहोर्दी पाँच पटकको आईपीएल च्याम्पियन मुम्बईको प्ले-अफ पुग्ने सम्भावना लगभग सकिएको छ । गणितीय सम्भावना रहेको मुम्बईले सबै सात खेल जितेर मात्र पुग्दैन अन्य टोलीको हार जितले पनि फरक पर्दछ । यस सिजनको सुरुवाती खेलमा खराब प्रदर्शन गरेको साबिक विजेता चेन्नाईको यो दोश्रो जित हो ।   

जितका लागि १५६ रनको लक्ष्य पछ्याएको चेन्नाईले अन्तिम बलमा सात विकेट गुमाएर लक्ष्य पार गर्यो ।

 सुरुवात राम्रो गर्न नसके पनि चेन्नाईको जितमा अम्बाती रायुडूले ४०, ओपनर रोबिन उथप्पाले ३०, अविजित रहेका महेन्द्र सिंह धोनीले १३ बलमा तीन चौका र एक छक्का सहित अविजित २८ तथा ड्वेन प्रेटोरियसले २२ रनको योगदान दिए ।

ड्यानियल साम्सले घातक बलिङ गर्दै चार ओभरमा ३० रन खर्चिएर चार विकेट लिनुको साथै जयदेव उनादकटले दुई विकेट हात पारे पनि मुम्बईलाई जितका लागि पर्याप्त रहेन ।    

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सात विकेट गुमाएर १५५ रनको मध्यम योगफल मात्र जोड्न सक्यो ।

ओपनरद्वय कप्तान रोहित शर्मा र विकेट किपर इशान किशान डक आउट तथा डेवाल्ड ब्रेविस चार रनमा आउट हुँदा निकै खराब सुरुवात गरेको मुम्बईको पारी सम्हाल्ने क्रममा तिलक वर्माले ४३ बल खेल्दै अविजित ५१ रनको पारी खेले । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।    

वर्मा बाहेक सूर्य कुमार यादवले ३२, ह्रितिक शोकिनले २५ तथा कायरन पोलार्डले १४ रनको पारी खेल्दै पेभेलियन फर्किए भने अविजित रहेका जयदेव उनादकटले नौ बलमा १९ रनको योगदान दिए ।

मुम्बईलाई सानो योगफलमा रोक्ने क्रममा मुकेश चौधरीले सर्वाधिक तीन विकेट हात पारे भने ड्वेन ब्राभोले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । रोहित, किशान र ब्रेविसको विकेट लिएका चौधरीले तीन ओभरमा मात्र १९ रन खर्चिए ।

 

Click to comment

Trending