Headline

वार्नरको तुफानी अर्धशतकमा दिल्लीको सहज जित 

Published

on

डेविड वार्नरले तुफानी पारी खेल्दै अर्धशतक प्रहार गरे पछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औँ खेलमा पन्जाब किंग्स माथि नौ विकेटको सहज जित हात पारेको छ ।

आजको खेलमा फराकिलो जित निकाल्दा दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने पन्जाब आठौँ स्थानमा झरेको छ । ६ खेल खेलेको दिल्लीको यो तेश्रो जित हो भने सात खेल खेलेको पन्जाबको यो चौथो हार हो ।   

टस जितेर पन्जाबलाई ब्याटिङ गर्न लगाएको दिल्लीले उसलाई २० ओभरमा ११५ मा अलआउट गरायो भने १० दशमलब तीन ओभर खेल्दै एक विकेटको क्षतिमा लक्ष्य पार गर्यो ।

दिल्लीको जितमा ओपनर डेविड वार्नरले अविजित रहँदै सर्वाधिक ६० रनको पारी खेले । ३० बलको सामना गरेका उनले १० चौका र एक छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर पृथ्वी शले पनि २० बलमा सात चौका र एक छक्काको मद्दतमा ४१ रन बनाए भने सर्फराज खानले पनि अविजित १२ रनको योगदान दिए ।    

यस अघि पन्जाबलाई सस्तोमा रोक्ने क्रममा खलिल अहमद, ललित यादव, अक्सर पटेल र कुलदिप यादवले समान २-२ विकेट हात पारे । समान ४-४ ओभर बलिङ गरेका अक्सर, खलिल र कुलदिपले क्रमश १०, २१ र २४ रन खर्चिए भने ललितले दुई ओभरमा ११ रन मात्र दिए ।

पन्जाबका विकेट किपर जितेश शर्माले सर्वाधिक ३२ रन बनाउँदा ओपनर तथा कप्तान मायँक अगरवालले २४ तथा शाहरुख खान र राहुल चाहरले समान १२-१२ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Click to comment

Trending