Headline

मिलरको आक्रामक पारीमा गुजरातको नाटकीय जित, डिफेन्डिङ च्याम्पियन चेन्नाईको पाँचौं हार 

Published

on

डेविड मिलर आक्रामक अर्धशतकीय पारी खेल्दा नव प्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २९ औँ खेलमा साबिक विजेता चेन्नाई सुपर किंग्स माथि तीन विकेटको नाटकीय जित हात पारेको छ ।

जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरातले आफ्नो पकड बलियो बनाएको छ । ६ खेलमा पाँचौँ जित निकालेको गुजरात १० अंक सहित अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ भने उसले दोश्रो स्थानको लखनउ सुपर जायन्ट्स भन्दा दुई अंकको स्पस्ट अग्रता पनि लिन सफल भएको छ ।

आजको हर पछि चेन्नाई नबौँ स्थानमा नै यथावत रहेको छ । छैटौँ खेलमा चेन्नाईको यो पाँचौँ हार हो । सुरुवाती चार खेलमा लगातार पराजित भएको चेन्नाईले यस अघिको खेलमा बेंगलोर माथि २३ रनको जित निकाल्दा पहिलो दुई अंक जोड्न सफल भएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभर खेल्दै पाँच विकेट गुमाएर १६९ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो भने १७० रनको लक्ष्य गुजरातले सात विकेट गुमाएर एक बल अगाडि लक्ष्य पार गर्यो ।

गुजरातको जितमा पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका डेविड मिलरले अविजित रहँदै सर्वाधिक ९४ रन बनाए । खेलको प्लेयर अफ द म्याच घोषित उनले ५१ बल खेल्दै आठ चौका र ६ छक्का प्रहार गरे ।

१२ दशमलब चार ओभरमा पाँच विकेट गुमाएर ८७ रन मात्र जोड्न सफल भएको गुजरातको जितमा मिलर बाहेक कप्तान हार्दिक पान्ड्याको अनुपस्थितिमा कप्तानी सम्हालेका रशिद खानले पनि २१ बलमा दुई चौका र तीन छक्का सहित ४० रनको आक्रामक पारी खेले । उनीहरुले छैटौँ विकेटका लागि २७ बलमा ७० रनको साझेदारी गर्दै गुजरातको जितको आधार तय गराए ।

अन्तिम तीन ओभरमा गुजरातलाई जितका लागि ४८ रन आवश्यक रहेको अवस्थामा रशिद खानले क्रिस जोर्डनको एकै ओभरमा तीन छक्का र एक चौका प्रहार गर्दै जित नजिक पुर्याए ।

अन्तिम आठ बलमा गुजरातलाई १३ रन आवश्यक रहेको स्थितिमा ड्वेन ब्राभोले क्रमश दुई बलमा रशिद र अल्जारी जोसेफको विकेट निकाल्दै चेन्नाईलाई खेलमा फर्काउन सफल भए । अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा मिलरले पहिलो दुई बलमा रन जोड्न नसके पनि तेश्रो बलमा छक्का प्रहार गरे । त्यस पछि फ्रि हिट रहेको चौथो बलमा चौका तथा पाँचौँ बलमा दुई रन जोड्दै गुजरातलाई नाटकीय जित दिलाउन सफल भए ।

गुजरातका ओपनर ऋद्धिमन शाह ११, अभिनव मनोहर १२, राहुल टेवाटिया ६ रनमा आउट भए भने अर्का ओपनर शुबमन गिल, विजय शंकर र अल्जारी जोसेफले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।

चार ओभरमा एक मेडन सहित २३ रन खर्चिएका ब्राभोले सर्वाधिक तीन विकेट लिए भने सुरुवाती ओभरहरुमा पनि दुई विकेट निकाल्दै चेन्नाईलाई खेलमा हाबी गराएका महिश थीक्षनाले चार ओभरमा २४ रन मात्र दिए पनि जित भने दिलाउन असमर्थ रहे ।

ओपनर रोबिन उथप्पा तीन तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मोईन अली एक रनमा आउट हुँदा खराब सुरुवात गरेको पनि अर्का ओपनर रुतुराज गायकवाडले ४८ बल खेल्दै समान ५-५ चौका र छक्का प्रहार गर्दै चेन्नाईको पारी सम्हाले ।

गायकवाड बाहेक अम्बाती रायुडूले ३१ बलमा ४६, शिवम दुबेले १९ रनको योगदान दिँदा कप्तान रविन्द्र जडेजाले पनि अविजित रहँदै १२ बलमा २२ रनको पारी खेले । खराब सुरुवातका बाबजुद गायकवाड र रायुडूले तेश्रो विकेटका लागि ५६ बलमा ९२ रन जोड्दै पारी सम्हालेका थिए ।

गुजरातका अल्जारी जोसेफले सर्वाधिक दुई विकेट हात पार्दा मोहम्मद शामी र यश दयालले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

 

Click to comment

Trending