Headline

उमरान मलिक र भुवनेश्वर कुमारले दिलाए हैदरबादलाई लगातार चौथो जित 

Published

on

उमरान मलिक र भुवनेश्वर कुमारले घातक बलिङ गर्दा सनराइजर्स हैदराबादले १५ औँ संस्करणको इन्डियन लिग (आईपीएल) को २८ औँ खेलमा पन्जाब किंग्स माथि सात विकेटको सहज जित हात पारेको छ ।

लगातार चौथो जित दर्ता गर्दा हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । सुरुवाती दुई खेलमा हार व्यहोरेको हैदराबादले ६ खेल खेल्दा आठ अंक बटुलेको छ । समान आठ अंक रहे पनि नेट रन रेटका आधारमा गुजरात पहिलो, लखनउ दोश्रो र बेंगलोर तेश्रो स्थानमा रहेका छन् । आजको खेलमा हार बेहोर्दा पन्जाब सातौँ स्थानमा रहेको छ ।    

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५१ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर सात बल अगावै जित सुनिश्चित गर्यो ।       

पन्जाबलाई सानो योगफलमा रोक्ने क्रममा उमरान मलिकले चार ओभरमा एक मेडन ओभर सहित २८ रन दिएर सर्वाधिक चार विकेट हात पारे भने भुवनेश्वर कुमारले चार ओभर नै बलिङ गर्दा २२ रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए । मलिकले आफ्नो अन्तिम ओभरमा तीन विकेट लिए भने कुनै पनि रन खर्चिएनन् ।

पन्जाबको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका लियाम लिविङ्गस्टोनले ३३ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा सर्वाधिक ६० रन जोड्दा शाहरुख खानले २६ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

हैदरबादको जितमा एडेन मार्क्रमले अविजित रहँदै २७ बलमा सर्वाधिक ४२ रन बनाए भने अविजित रहेका विकेट किपर ब्याटर निकोलस पुरणले पनि ३५ रनको पारी खेले । त्यस बाहेक राहुल त्रिपाठीले ३४, ओपनर अभिषेक शर्माले ३१ रनको योगदान दिए भने कप्तान तथा ओपनर केन विलियमसन तीन रन बनाएर आउट भए ।

राहुल चाहरले २८ रन खर्चिएर दुई विकेट तथा कागीसो रबाडाले २९ रन दिएर एक विकेट निकाले भने अन्य बलर विकेट विहीन रहन पुगे । 

 

Click to comment

Trending