Headline

१४ वर्ष पछि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

Published

on

सन् २०२३ मा आयोजना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले १४ वर्ष पछि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार नेपालले अफगानिस्तानसँग मे २५ र २९ तारिकमा कतारमा दुई मैत्रीपूर्ण खेलहरु खेल्ने छ । नेपालले अफगानिस्तानसँग उक्त मैत्रीपूर्ण खेलका लागि अनुरोध गरेको र अफगानिस्तान फुटबल संघले आज मात्र नेपालको प्रस्ताव स्वीकार गरेको एन्फाले जनाएको छ ।     

नेपालले पछिल्लो पटक सन् २००८ मा अफगानिस्तानसँग मैत्रिपूर्ण खेल खेलेको थियो । मलेसियामा भएको उक्त खेल २-२ को बराबरीमा सकिएको थियो । त्यस्तै नेपालले अफगानिस्तानसँग नौ वर्ष पछि पहिलो पटक खेल्न लागेको हो । नेपालले पछिल्लो पटक अफगानिस्तानसँग साफ च्याम्पियनसिपमा भिडेको थियो । सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल अफगानिस्तानले १-० गोल अन्तरले स्तब्ध हुँदा नेपालको पहिलो पटक फाइनल पुग्ने सपना चकनाचुर भएको थियो ।    

हाल एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोली थप अभ्यासका लागि कतारको भ्रमण गर्नेछ । कतारमा अभ्यास र मैत्रीपूर्ण खेल पछि नेपाली टोली एसियन कप छनोटको लागि कुवेत तर्फ उड्ने छ ।

नेपालले एसियन कप छनोटमा आयोजक राष्ट्र कुवेतसँगै जोर्डन र इन्डोनेसिया । नेपालले छनोटको आफ्नो पहिलो खेल जुन आठ तारिकमा जोर्डनसँग खेल्ने छ भने ११ तारिकमा आयोजक कुवेतको सामना गर्नेछ । त्यस्तै नेपालले छनोट चरणको आफ्नो तेश्रो र अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियासँग भिड्ने छ ।      

 

Click to comment

Trending