Headline

दिल्ली माथि बेंगलोरको शानदार जित 

Published

on

दिनेश कार्तिकको र ग्लेन म्याक्सवेलको अर्धशतक तथा जश हेजलउडको बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्स माथि १६ रनको शानदार जित हात पारेको छ ।

जितसँगै बेंगलोर ६ खेलमा आठ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको गुजरात आठ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने ६ खेलमा आठ अंक नै रहे पनि लखनउ दोश्रो स्थानमा रहेको छ । तीनै टोलीको समान आठ अंक रहे पनि नेट रन रेटका आधारमा गुजरात पहिलो, लखनउ दोश्रो र बेंगलोर तेश्रो स्थानमा रहेका हुन् ।

विकेट किपर दिनेश कार्तिक र चौथो नम्बरमा ब्याटिङ गर्न आएका ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै पाँच विकेट गुमाएर १८९ रन बनायो । 

जश हेजलउडले मध्यक्रममा तीन विकेट निकाल्दा डेविड वार्नरको अर्धशतक र कप्तान ऋषभ पन्तको आक्रामक पारीको बाबजुद दिल्लीले पुरै २० ओभर खेले पनि सात बिकेट गुमाएर १७३ रन भन्दा जोड्न सकेन ।

चार ओभरमा २८ रन दिएका हेजलउड रोवमन पावेललाई गोल्डेन डकआउट तथा ललित यादव र शार्दुल ठाकुरलाई क्रमश १७ र १० रनमा आउट गर्दै बेंगलोरको जित सुनिश्चित गराए । 

ओपनर डेविड वार्नरले आक्रामक पारी खेल्दै ३८ बलमा चार चौका र पाँच छक्का सहित ६६ रन बनाएर दिल्लीलाई राम्रो सुरुवात दिलाए । वानिन्दु हसरंगाको बलमा ओत हुँदा दिल्ली ११ दशमलब तीन ओभरमा दुई विकेट गुमाएर ९४ रनको स्थितिमा रहेको थियो । 

१७ बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाएका कप्तान पन्तलाई मोहम्मद सिराजले विराट कोहलीको हातबाट क्याच थमाउँदै बेंगलोरलाई खेलमा फर्काउन सफल रहे । चार ओभरमा ३१ रन खर्चिएका सिराजले पन्तको साथै १६ रन बनाएका ओपनर पृथ्वी शको पनि विकेट हात पारे ।

खराब सुरुवात गरे पनि बेंगलोरको लागि दिनेश कार्तिकले अविजित रहँदै ६६ रन बनाए भने ग्लेन म्याक्सवेलले पनि ५५ रनको महत्वपूर्ण पारी खेले । ३४ बल खेलेका म्याक्सवेलले सात चौका र दुई छक्का प्रहार गरे । त्यस्तै खेलको प्लेयर अफ द म्याच घोषित कार्तिकले ३४ बल खेल्दै समान ५-५ चौका र छक्का प्रहार गरे ।

ओपनर अनुज रावत गोल्डेन डक आउट, ओपनर तथा कप्तान फाफ डु प्लेसिस आठ, पुर्व कप्तान विराट कोहली १२ तथा सुयाश प्रभुदेसाई ६ रनमा आउट भए पनि म्याक्सवेल र कार्तिकले बेंगलोरको पारी सम्हाले । 

११ दशमलब दुई ओभरमा बेंगलोरको बोर्डमा ९२ रन हुँदा म्याक्सवेल पेभेलियन फर्किए पनि कार्तिकले शाहबाज अहमदसँग छैटौँ विकेटका लागि ५२ बलमा अविजित ९७ रन जोड्दै चुनौतिपूर्ण योगफल सम्म डोर्याए । २१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका शहबाज ३२ रनमा अविजित रहे ।

 

Click to comment

Trending