Headline

लखनउका कप्तान राहुलले शतक प्रहार गर्दा मुम्बईको लगातार छैटौँ हार   

Published

on

पाँच पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको मुम्बई इन्डियन्सले १५ औँ संस्करणमा लगातार छैटौँ हारको सामना गरेको छ । ६ खेल खेल्दा मुम्बईले कुनै पनि खेलमा जित दर्ता गराउन सकेको छैन ।

यसै सिजनबाट आईपीएल खेलेको लखनउ सुपर जायन्ट्सले मुम्बई माथि जित हात पार्दा अंक तालिकाको दोश्रो स्थानमा पनि उक्लन सफल भएको छ । ६ खेलमा चार जित हात पारेको लखनउ आठ अंक सहित दोश्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको शीर्ष स्थानको गुजरातको पनि आठ अंक नै रहे पनि नेट रन रेटका आधारमा अंक तालिकाको शीर्ष स्थान ओकट्न सफल रहेको हो ।   

कप्तान केएल राहुलले अविजित रहँदै शतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभर खेल्दै चार विकेट गुमाएर १९९ रन बनायो भने २०० रनको लक्ष्य लिएर मैदानमा आएको मुम्बईले पुरै २० ओभर खेले पनि नौ विकेट गुमाएर १८१ रन भन्दा जोड्न सकेन ।

लखनउको तर्फबाट कप्तान राहुलले अविजित रहँदै सर्वाधिक १०३ रन बनाए । ओपनिङमा आएका उनले ६० बल खेल्दै नौ चौका र पाँच छक्का प्रहार गरे । राहुल बाहेक लखनउको लागि मनिष पाण्डेले ३८ तथा अर्का ओपनर क्विन्टन डि ककले २४ रनको योगदान दिए ।

मुम्बईलाई रोक्ने क्रममा आवेश खानले चार ओभरमा ३० रन दिएर सर्वाधिक तीन विकेट लिए भने जेसन होल्डर, दुश्मन्था चमिरा, रवि विश्नोई र मार्कस स्टोइनिसले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

कप्तान रोहित शर्मा ६ रनमा आउट हुँदा खराब सुरुवात गरेको मुम्बईको लागि अर्का ओपनर इशान किशान र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डेवाल्ड ब्रेविसले आक्रामक पारी खेल्दै आफ्नो टोलीको पारी सम्हाल्ने प्रयास गरे पनि ब्रेविस १३ बलमा ३१ रन तथा किशान १३ रन प्रहार गर्दै तीन बलको अन्तरालमा पेभेलियन फर्किए ।

सुर्य कुमार यादवले ३७, तिलक बर्माले २६ तथा कायरन पोलार्ड २५ रनमा आउट हुँदा मुम्बईको पहिलो जित दर्ता गर्ने सपना चकनाचुर हुन पुग्यो ।    

Click to comment

Trending