Headline

विरनदिपको अलराउण्ड प्रदर्शनमा मलेसिया फाइनलमा 

Published

on

विरनदिप सिंहको अलराउण्ड प्रदर्शनमा उत्तर प्रदेश ११ माथि १४ रनको जित हात पार्दै मलेसिया ११ भैरहवामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मलेसियाले उपाधिका लागि नेपाल आर्मी क्लब र रुपन्देही ११ बीचको दोश्रो सेमिफाइनल बीचको विजेतासँग भिड्ने छ ।   

हिलो मैदानका कारण पाँच ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पाँच ओभरमा तीन विकेट गुमाएर ४४ रन बनायो भने उत्तर प्रदेशले पाँच ओभर खेल्दै चार विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।

मलेसियालाई फाइनलको यात्रा तय गराउने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित विरानदिपले १४ बल खेल्दै तीन चौका सहित २० रन बनाए भने एक ओभरमा तीन रन दिएर सर्वाधिक दुई विकेट हात पारे ।

मलेसियाको लागि सैयद अजिजले १३ बलमा २३ रनको योगदान दिए भने शर्विन मुनियान्ड़े र कप्तान अहमद फैज डक आउट भए । 

उत्तर प्रदेशका राज यादवले एक ओभरमा दुई रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए ।      

शुभम चौधरीले उत्तर प्रदेशको तर्फबाट सर्वाधिक ११ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा फाइनलको यात्रा तय गर्न सकेन ।

मलेसियालाई फाइनलमा पुर्याउन सैयद अजिज र विजय उन्नीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

Click to comment

Trending