Headline

पाँच पटकको आईपीएल विजेता मुम्बई लगातार पाँच खेलमा पराजित 

Published

on

इन्डियन प्रिमियर लिगको सबैभन्दा सफल टोली मुम्बई इन्डियन्सले १५ औँ संस्करणमा भने निकै खराब सुरुवात गरेको छ । पाँच पटकको च्याम्पियनले जारी संस्करणको सुरुवाती पाँच खेलमा नै हारको सामना गरेको छ । आजको खेलमा पन्जाब किंग्ससँग १२ रनले पराजित हुँदा मुम्बईले लगातार पाँचौं हारको सामना गर्न बाध्य भयो ।

जारी आईपीएलमा मुम्बई मात्र जित निकाल्न असफल रहेको टोली हो । आजको खेलमा जित निकाल्दै पन्जाब अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा तीन जित निकाल्दै ६ अंक रहेको पन्जाब समान ६ अंक रहेका राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स पछि नेट रन रेटका आधारमा तेश्रो स्थानमा छ ।

पन्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले पुरै २० ओभर खेले पनि नौ बिकेट गुमाएर १८६ रन भन्दा जोड्न सकेन ।

मुम्बईलाई रोक्ने क्रममा ओडेन स्मिथले तीन ओभरमा ३० रन दिएर सर्वाधिक चार विकेट हात पारे भने कागिसो रबाडाले चार ओभरमा २९ रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

 मुम्बईको लागि डेवाल्ड ब्रेविसले २५ बलमा सर्वाधिक ४९ रन बनाए भने सूर्य कुमार यादवले ४३, तिलक वर्माले ३६ तथा कप्तान रोहित शर्माले २८ रनको पारी खेले । २५ बलमा चार चौका र पाँच छक्का प्रहार गरेका ब्रेविसले राहुल चाहरको एकै ओभरमा एक चौकाको साथै लगातार चार छक्का प्रहार गरे पनि मुम्बईलाई जित दिलाउन पर्याप्त रहेन ।

यस अघि ओपनरद्वय मायंक अगरवाल र शिखर धवनले अर्धशतकीय पारी खेल्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा पाँच विकेट गुमाएर १९८ रन बनायो ।

पन्जाबको तर्फबाट शिखर धवनले ५० बल खेल्दै पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७० रन बनाए भने कप्तान मायंक अगरवालले ३२ बलमा ६ चौका र दुई छक्का सहित ५२ रनको पारी खेले । उनीहरुले पहिलो विकेटका लागि नौ दशमलब तीन ओभरमा ९७ रनको साझेदारी गर्दै पन्जाबलाई उत्कृष्ट सुरुवात दिए ।

उनीहरु बाहेक विकेट किपर जितेश शर्माले १५ बलमा ३० रन जोड्दा शाहरुख खानले पनि ६ बलमा १५ रनको योगदान दिए ।

मुम्बईका बासिल थम्पीले महँगो साबित भए पनि चार ओभरमा ४७ रन खर्चिएर सर्वाधिक दुई विकेट आफ्नो नाममा दर्ता गराए ।    

 

Click to comment

Trending