Headline

रामोस अर्को पाँच वर्ष खेल्ने 

Published

on

पिएसजीका भेट्रान डिफेन्डर सर्जियो रामोसले आफू अझै अर्को पाँच वर्ष फुटबल खेल्ने जनाएका छन् । उनले ४० बसन्त पार गरे पछि पनि मैदानमा भिड्न तयार रहेको बताएका हुन् ।  

३६ वर्षीय रामोसले यसै सिजन रियल म्याड्रिडबाट पिएसजीमा आबद्ध भएका थिए । तर चोटका कारण उनले सबै प्रतियोगितामा पिएसजीको लागि सात खेल भन्दा खेल्न सकेका छैनन् ।

यसै महिनाको सुरुवातमा लोरियन्ट विरुद्धको खेलमा मैदानमा प्रवेश गर्दा समर्थकरुले उनी विरुद्ध नाराबाजी नै गरेका थिए । फ्रान्समा डेब्यु गर्नका लागि लामो समय कुर्न परेको कारण पनि यसै सिजनको अन्त्यसँगै उनीसँगको सम्झौता क्लबले रद्द गर्न सक्ने चर्चा चलिराख्दा पनि रामोस अझै पनि माथिल्लो श्रेणीमा आफू खेल्नका लागि फिट र तयार रहेको पनि बताउँछन् ।

“म अझै अर्को चार पाँच वर्ष फुटबल खेल्न चाहन्छु । त्यस पछि म अन्यत्र लाग्ने छु,” रामोसले एक अन्तर्वार्ताका क्रममा भने । “मेरो पिएसजीसँगको सम्झौता दुई वर्षको रहेको छ । म त्यसलाई तीन चार बनाउन चाहन्छु । त्यस पछि भने हेर्दै जाउँ के हुन्छ । मेरो सरिरले खेल्न दिएको खण्डमा म मेरो मनलाई खेलमा केन्द्रित गर्न सक्छु ।”

सेन्टर ब्याक रामोसले अघि भने, “म उत्कृष्ट खेलाडी बन्ने भन्दा पनि उत्कृष्ट टोलीबाट खेल्न चाहन्छु । फुटबल एकल खेल नभएर टिम खेल हो, जित्ने भनेको सामूहिक प्रयासले हो ।”   

यस सिजन पिएसजीको लागि दुई खेलमा मात्र पुरै ९० मिनेट मैदानमा बिताएका रामोसले आफू वर्ल्ड च्याम्पियनसिप र च्याम्पियन्स लिग खेल्न आतुर रहेको पनि बताए ।

 

 

 

Click to comment

Trending