Headline

आईसीसी वरियतामा दिपेन्द्रको किर्तिमान 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियतामा नेपाली खेलाडी मध्य नयाँ किर्तिमान बनाएका छन् । 

आईसीसीको नयाँ वरियतामा अलराउण्डर मध्य १० औँ स्थानमा उक्लिएका दिपेन्द्र नेपालको तर्फबाट शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । दिपेन्द्र १५२ रेटिङ सहित १० औँ स्थानमा रहेका छन् । यस अघि नेपालको तर्फबाट अलराउण्डरमा पूर्व कप्तान पारस खड्का सन् २०१९ मा २५ औँ स्थान सम्म पुग्न सफल भएका थिए । 

गत हप्ता घरेलु मैदानमा नेपाल, मलेसिया र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक शृंखलामा पाँच खेल खेल्दा एक शतक र दुई अर्धशतक सहित कुल २५५ रन प्रहार गरेका थिए भने सात विकेट पनि हात पारेका थिए ।

मलेसिया विरुद्धको समुह चरणको अन्तिम खेलमा अविजित ११० रन जोड्दा दिपेन्द्र नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय दुवैमा शतक प्रहार गर्ने पूर्व कप्तान पारस खेलाडी पछि दोश्रो नेपाली ब्याटर बनेका थिए । नेपाललाई उपाधि दिलाउने क्रममा उनले फाइनलमा अविजित ५४ रन जोड्नुको साथै १८ रन दिएर चार विकेट पनि आफ्नो नाममा दर्ता गराएका थिए । 

त्यस्तै दिपेन्द्र ब्याटिङ तर्फको वरियतामा ३८ औँ स्थानमा रहेका छन् भने नेपाली टोलीका ओपनर कुशल भुर्तेल ३६ औँ स्थानमा रहेका छन् । बलिङ तर्फ नेपाली टोलीका कप्तान सन्दिप लामिछाने ३८ औँ स्थानमा पर्न सफल भएका छन् ।

 

Click to comment

Trending