Headline

च्याम्पियन्स लिगः चेल्सीको उत्कृष्ट पुनरागमनलाई पाखा लगाउदै रियल सेमिफाइनलमा

Published

on

चेल्सीको उत्कृष्ट पुनरागमनमा पानी फेर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले समग्रमा ५–४ को जितसहित अर्को एक कदम उपाधि तर्फ चालेको हो ।

मँगलवार सेन्टियागो बर्नाबेउमा भएको दोश्रो लेगमा दुई गोलले पछि पर्दै खेल शुरु गरेको चेल्सी ७९ औं मिनेटसम्म ३–० ले अघि रहर्दै समग्रमा ४–३ को अग्रतामा सेमिफाइनल नजिक रहेको थियो । तर सब्स्टिच्युट रोद्रिगोले ८० औं मिनेटमा भलि मार्फत उत्कृष्ट गोल गर्दै खेललाई आधा घण्टाको अतिरिक्त समयमा धकेले ।

अतिरक्त समयको छैटौं मिनेटमै करिम बेन्जेमाले भिनिसियस जुनियरको पासमा फिनिसिँग गर्दै रियललाई अन्तिम चारको बाटो देखाए । दोश्रो लेग चेल्सीले ३–२ ले आफ्नो पक्षमा पारे पनि डिफेन्डिँग च्याम्पियनका लागि त्यो पर्याप्त हुन सकेन ।

यो सिजन ३८ खेलमा ३८ गोल गरेका बेन्जेमाको च्याम्पियन्स लिगमा यो १२ औं गोल हो । उनले चेल्सीबिरुद्ध पहिलो लेगमा ह्याट्रिक गरेका थिए भने त्यसअघि पनि अन्तिम १६ को दोश्रो लेगमा पेरिस सेन्ट जर्माइनबिरुद्ध ह्याट्रिक पुरा गरेका हुन् ।

उनले आफ्नो पछिल्लो पाँच वटै च्याम्पियन्स लिग खेलहरुमा गोल गरेका छन् । उनकै ह्याट्रिकको मद्दतमा रियलले स्ट्यामफोर्ड ब्रिजमै चेल्सीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलको लागि राम्रो आधार खडा गरेको थियो ।

मँगलवार निकै नै सनसनीपूर्ण खेलमा उत्कृष्ट शुरुवात गरेको चेल्सीले १५ औं मिनेटमै अग्रता लिएको थियो । टिमो वेर्नरको असिस्टमा मेसन माउन्टले पहिलो गोल गरेका थिए । दोश्रो हाफको छैटौं मिनेटमै एन्टोनियो रुडिगरले माउन्टको पासमा चेल्सीलाई समग्रमा बराबरी दिलाए ।

वेर्नरले ७५ औं मिनेटमा तेश्रो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए तर त्यसपछि भने रियल खेलमा फर्कन सफल भएको थियो । चेल्सीका लागि मार्कस अलोन्सोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले मान्यता दिएको थिएन भने लगत्तै बेन्जेमाको हेडर बारमा लागेर फर्किएको थियो ।

Click to comment

Trending