Headline

 “रोनाल्डोले सधैँ बिहान प्रार्थना गर्दै बेन्जेमासँगै खेल्न पाएकोमा धन्यवाद दिन पर्दछ”

Published

on

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जमाले १० वर्षसँगै रियल म्याड्रिडबाट खेले । रोनाल्डो र बेन्जेमाको साझेदारीमा रियल म्याड्रिडले सन् २००९ देखि २०१८ को बीचमा दुई स्पेनिस ला लिगाको उपाधि जित्नुको साथै चारवटा च्याम्पियन्स लिग पनि भित्राउन सफल रह्यो ।

रियलले उक्त १० वर्षको अवधिमा जेजति उपलब्धि हासिल गरेको भए पनि यसको श्रेय बेन्जेमाले चाख्न पाएनन् । कारण थिए रोनाल्डो । रियलको प्रदर्शनमा सधैँ रोनाल्डो नै नायक साबित भएर आउँथे र उनले नै पत्र पत्रिका देखि टिभी अनलाइन सम्मको हेडलाइनमै प्राथमिकता पनि पाउने गर्दथे ।

यसको कारण थियो रोनाल्डोको गोल संख्या । रोनाल्डोले रियल बसाइमा ४३८ खेल खेल्दा ४५० गोल आफ्नो नाममा लेखाउँदै रियलको लागि सर्वाधिक गोल गर्ने किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । रियलको लागि सर्वाधिक गोल गर्ने सूचीको दोश्रो स्थानमा रियल र स्पेनका अर्का लिजेन्ड राउल रहेका छन्, जसले ७४१ खेल खेल्दै ३२३ गोल गरेका थिए । तेश्रो नम्बरमा बेन्जेमा रहेका छन् । सन् २००९ मा नै रियल आएका उनले १३ वर्ष क्लबमा बिताउँदा ५९६ खेल खेलेका छन् भने ३१६ गोल गरेका छन् । 

३१६ गोल गरेका बेन्जेमाले रोनाल्डो रियलमा रहँदा सम्म जम्मा १५५ गोल गरेका थिए भने उनले रोनाल्डोलाई ४५ एसिस्ट पनि दिएका थिए ।

रोनाल्डोले रियलमा रहँदा थुप्रै उपलब्धि हासिल गरे । तर इटालीका पूर्व खेलाडी एन्टेनियो कासानो भने रोनाल्डोले रियलमा रहँदा जे जति उपलब्धि हासिल गर्नुको साथै व्यक्तिगत प्रदर्शन गरे त्यसको श्रेय बेन्जेमालाई दिन पर्नेमा जोड दिन्छन् ।

१८ महिना रियलमा बिताएका कासानोले एक टेलिभिजन अन्तर्वार्तामा भने, “फुटबलमा उपाधि र गोल संख्या मात्र हुँदैन । जिनेदिन जिदान र हुआन रोमनलाई हेर्ने हो भने उनीहरूले निकै कम गोल गरेका छन् । तर जति पनि गोल गरेका छन् ति सबै गोलहरू निकै महत्वपूर्ण रहेका थिए । थोरै गोल गरेको भए पनि उनीहरु इतिहासका महान खेलाडीहरू हुन् । गोल र उपाधि चाहिन्छ । तर ति आधारभूत विषय हैनन् ।” 

” रोनाल्डोले सधैँ बिहान उठेर प्रार्थना गर्न पर्दछ र भन्न पर्दछ ‘धन्यवाद बेन्जेमा, मैले तिमीसँगै एउटै टोलीबाट खेल्ने अवसर प्राप्त गरें ।” 

“रोनाल्डोले यस अघि धेरै गोल गरेका छन् भने भविष्यमा पनि गर्नेछन् । उनी अर्कै खेलाडी हुन् । बेन्जेमा रोनाल्डो जस्तै गोल गर्ने क्षमता भएका सेन्टर फरवार्ड हुन् । त्यस्तै उनी जिदान जस्तै खेल मिलाउन सक्ने खेलाडी पनि हुन् । उनी नौ, १० तथा नौ र आधी पनि हुन् ।”   

रोनाल्डोले रियल छाडे पछि उनले १८३ खेलमा रियलको लागि १२४ गोल गरेका छन् छन् । तर रोनाल्डोले रियल छाडे पछिको परदर्शन हेर्ने हो भने बेन्जेमा नै अघि छन् । रोनाल्डोले युभेन्टस र म्यानचेस्टरका लागि ११९ गोल मात्र गर्न सफल भएका छन् ।

३४ वर्षीय बेन्जेमा अहिले आफ्नो खेल जीवनको नै उत्कृष्ट लयमा रहेका छन् । जारी सिजन ३७ खेल खेल्दा उनले ३७ गोल नै गरेका छन् । उनले यसै सिजन च्याम्पियन्स लिगमा पिएसजी तथा चेल्सी विरुद्ध दुई ह्याट्रिक पनि पुरा गरेका छन् । उता ३७ वर्षीय रोनाल्डोले भने युनाइटेडको लागि सबै प्रतियोगितामा गरेर १८ गोल मात्र आफ्नो नाममा दर्ता गराउन सकेका छन् ।  

Click to comment

Trending