Headline

चेन्नाईले दर्ता गर्यो यस सिजनको पहिलो जित 

Published

on

रबिन उथप्पा र शिवम दुबेले आक्रामक अर्धशतक प्रहार गर्नुका साथै स्पिनरद्वय महिश थिक्षना र रविन्द्र जडेजाले घातक बलिङ गर्दा साबिक विजेता चेन्नाई सुपर किंग्सले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गराएको छ । 

यस अघिका चार खेलमा लगातार हारको सामना व्यहोरेको चेन्नाईले आफ्नो पहिलो अंक जोड्ने क्रममा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गर्यो । बेंगलोरको भने पाँचौं खेलमा यो दोश्रो हार हो ।

चेन्नाईले दिएको २१७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले पुरै २० ओभर खेले पनि नौ विकेट गुमाएर १९३ रन भन्दा जोड्न सकेन ।  

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको बेंगलोरको तर्फबाट शहबाज अहमदले २७ बलमा सर्वाधिक ४१ रन जोड्दा सुयाश प्रभुदेसाई र विकेट किपर दिनेश कार्तिकले क्रमश १८ र १४ बलमा समान ३४-३४, ग्लेन म्याक्सवेलले ११ बलमा २६ रनको पारी खेले । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले आठ रन जोड्दा पुर्व कप्तान विराट कोहलीले एक रन मात्र बनाएर आउट हुन पुगे ।

बेंगलोर माथि रवाफिलो जित हात पार्ने क्रममा चेन्नाईका महिश थिक्षनाले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने कप्तान रविन्द्र जडेजाले चार ओभर बलिङ गर्दा ३९ रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा चार विकेट गुमाएर २१६ रनको विशाल योगफल बनाउन सफल भयो । 

चेन्नाईको लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका शिवम दुबेले अविजित रहँदै सर्वाधिक ९५ रन बनाए भने ओपनर रबिन उथप्पाले पनि ८८ रनको योगदान दिए । अर्का ओपनर रुतुराज गायकवाड १७ तथा मोईन अली तीन रनमा आउट भए पनि दुबे र उथप्पाले तेश्रो विकेटका लागि ७४ बलमा आक्रामक १६५ रनको साझेदारी गर्दै चेन्नाईको योगफल २०० कटाउन सफल रहे ।

५० बल खेल्दै चार चौका र नौ छक्का प्रहार गरेका उथप्पा वानिन्दु हसरंगाको बलमा विराट कोहलीको हातबाट क्याच आउट हुन पुगे भने दुबेले ४६ बलमा पाँच चौका र आठ छक्काको पारी खेले । 

बेंगलोरका हसरंगाले तीन ओभरमा ३५ रन दिएर सर्वाधिक दुई विकेट लिए भने जश हेजलउडले पनि एक विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।    

 

Click to comment

Trending