Headline

उत्तर प्रदेशसँग पराजित हुँदा एपीएफ समुह चरणबाट नै बाहिरियो 

Published

on

उत्तर प्रदेश ११ सँग सात विकेटले पराजित हुँदा नेपाल एपीएफ क्लब एक खेल अगावै नेपाल प्रो क्लब च्याम्पियनसिपको समुह चरणबाट नै बाहिरिएको छ ।

आफूले खेलेका दुबै खेलमा पराजित हुँदा समुह बि बाट एपीएफको सेमिफाइनल खेल्ने आशा समाप्त भएको छ । आजको खेलमा एपीएफ माथि सहज जित निकाल्दा उत्तर प्रदेशले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसै समुहबाट नेपाल आर्मी क्लबले पनि सेमिफाइनलको टिकट काटी सकेको छ । आर्मी र उत्तर प्रदेशले आफूले खेलेका दुबै खेलमा जित निकालेका थिए भने एपीएफ र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी दुबै खेलमा पराजित हुन पुगे ।

प्रिन्स शाही र विपिन चन्द्रा बलमा चम्किँदा एपीएफले १७ दशमलब एक ओभरमा ७६ रन जोड्दा आफ्ना सबै विकेट गुमाउन पुग्यो भने उत्तर प्रदेशले १३ दशमलब दुई ओभरमा तीन विकेट गुमाएर लक्ष्य पार गर्यो ।

प्रिन्सले चार ओभर बलिङ गर्दै ११ रन दिएर सर्वाधिक चार विकेट लिए भने विपिनले तीन दशमलब एक ओभरमा सात रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । त्यस बाहेक एपीएफलाई सस्तोमा रोक्ने क्रममा सन्दिप मित्तल, दिव्य सिंह र नितिन रामले पनि समान १-१ विकेट हात पारे ।

एपीएफका अमर सिंह राउटेलाले सर्वाधिक २१ रन जोडे भने सुमित महर्जनले १६ तथा पुरन बिकेले १२ रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

उत्तर प्रदेशको जितमा राज यादवले अविजित २९ रन जोड्दा विवेक सिंहले २२ तथा राहुल कुमारले १६ रनको योगदान दिए ।

 

Click to comment

Trending