Headline

झण्डै तीन बर्षपछि हुने भयो नेपाल बास्केटबल लिग

Published

on

पछिल्लो संस्करणको आयोजनाको झण्डै तीन बर्षपछि नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले तेश्रो संस्करण पुरुष एनबिएल र दोश्रो संस्करणको महिला एनबिएल (डब्लुएनबिएल) आयोजना गर्न गइरहेको हो ।

प्रतियोगिता जेठ ६ देख साउन ७ गतेसम्म हुनेछ । होम एण्ड अवे फरम्याटमा आयोजना गर्ने गरिएको एनबिएल शुरुवाती दुई संस्करणमा नै निकै लोकप्रिय बनेको थियो । तर कोरोना भाइरसको महामारी र बिभिन्न परिस्थितिका कारण प्रतियोगिता गर्न नसकिएको आयोजकले आइतबार जनाएको छ ।

पुरुष बास्केटबल लिग जेठ ७ देखि शुरु हुनेछ भने महिला लिग जेष्ठ १८ देखि सञ्चालन गराइनेछ । दुई महिनासम्म सञ्चालन हुने एनबिएल नेपालकै सबैभन्दा लामो तथा ठूलो बास्केटबल लिगको रुपमा रहेको छ । दुवै बिधाको प्लेअफ खेलहरु असार ३२ देखि शुरु हुनेछन् ।

सहभागि टोलीहरुले एक अर्कासँग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे गरि दुई–दुई खेल खेल्नेछन । दुई चरणको लिगपछि पहिलो चार स्थान प्राप्त गर्ने टोली प्ले अफका लागि छानिनेछन् ।

प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले बेस्ट अफ थ्रिका आधारमा पहिलो क्वालिफायर खेल्नेछन जसबाट बिजयी टोली सिधै फाइनल प्रवेश गर्नेछ ।

तेश्रो र चौथो स्थानको टोलीले बेस्ट अफ थ्रि एलिमिनेटर खेल्नेछन र बिजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसंग फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नेछ । दोश्रो क्वालिफायर पनि बेस्ट अफ थ्रि कै आधारमा खेलाइनेछ ।

दुवै तर्फको फाइनलमा भने एक खेल मात्र हुनेछ । पुरुषतर्फ टाइम्स इन्टरेनशनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेशनल क्लब, रोयल बास्केटबल क्लब, बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लब र कीर्तिपूर बास्केटबल क्लब रहेका छन् ।

नेपाल पुलिस क्लब, ललितपुर हाइ, रोयल र आइएसए नेपाल महिला अन्तर्गतका टोलीहरु रहेका छन् । दुवै तर्फ टिम थप्न सकिने बताइएको छ । टाइम्स र पुलिस प्रतियोगिताका डिफेन्डिँग च्याम्पियन रहेका छन् ।

पुरुषतर्फ लिग बिजेता र उपबिजेताले २ लाख र १ लाख रुपैया प्राप्त गर्नेछन् भने महिलातर्फ १ लाख र ५० हजार नगद प्राप्त गर्नेछन् । यस्तै टुर्नामेन्ट एमभिपी, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले समान १० हजार नगद प्राप्त गर्नेछन् ।

Click to comment

Trending