Headline

बेंगलोरसँग पराजित हुँदा मुम्बईको लगातार चौथो हार  

Published

on

ओपनर अनुज रावत र पूर्व कप्तान विराट कोहलीले अर्धशतकीय साझेदारी गर्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ खेलमा मुम्बई इन्डियन्स माथि सात विकेटको सहज जित निकालेको छ ।

आजको खेलमा जित निकाल्दै बेंगलोर अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । आफ्नो चौथो खेलमा तेश्रो जित निकाल्दै बेंगलोर पाँचौ स्थानबाट तेश्रो स्थानमा उक्लिएको हो । यस सिजन निकै खराब सुरुवात गरेको मुम्बईले आफूले खेलेका चार खेल मध्य चारमा नै हारको सामना गर्न पुगेको छ र अंक तालिकाको नवौँ स्थानमा रहेको छ । समान चार खेल खेल्दा चारवटामा हार चाखेको अर्को टोली चेन्नाई सुपर किंग्स नेट रन रेटका आधारमा अंक तालिकाको पुछारमा रहेको छ । 

मुम्बईले दिएको १५२ रनको लक्ष्य बेंगलोरले १८ दशमलब तीन ओभर खेल्दै तीन विकेट गुमाएर जित हात पार्यो ।  

बेंगलोरको जितमा ओपनर अनुज रावतले ४७ बलको सामना गर्दै दुई चौका र चार छक्का सहित सर्वाधिक ६६ रन बनाए भने अर्धशतक बनाउनबाट दुई रनले चुकेका पूर्व कप्तान कोहलीले ३६ बल खेल्दै पाँच चौका सहित ४८ रन बनाए । त्यस बाहेक कप्तान तथा ओपनर फाफ डु प्लेसिसले १६ रन बनाएर आउट भए भने विकेट किपर दिनेश कार्तिक सात तथा ग्लेन म्याक्सवेल आठ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि कप्तान प्लेसिस र रावतले ५० रनको साझेदारी गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिए । त्यस पछि विराट र रावतले दोश्रो विकेटका लागि ५२ बलमा ८० रनको साझेदारी गर्दै बेंगलोरलाई जितको आधार तयार पारे । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको सामान्य योगफल मात्र बनाउन सक्यो ।

मुम्बईको तर्फबाट चौथो नम्बरमा ब्याटिंग गर्न आएका सुर्य कुमार यादवले ३७ बलमा पाँच चौका र ६ छक्का सहित अविजित ६८ रन बनाए भने ओपनरद्वय इशान किशान र रोहित शर्माले समान २६-२६ रनको योगदान दिए ।

राम्रो सुरुवात गरेको मुम्बईले १९ रनको अन्तरालमा पाँच विकेट गुमाउँदा ठुलो योगफल बनाउनबाट चुक्यो । कप्तान रोहित र किशानले पहिलो विकेटका लागि ६ दशमलब दुई ओभरमा ५० रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाए । तर रोहितको विकेटको पतन पछि देवाल्द ब्रेविस आठ, किशान, तिलक वर्मा शुन्य, कायरन पोलार्ड गोल्डेन डक आउट तथा रमनदिप सिंह ६ रनमा आउट हुँदा मुम्बई १३ दशमलब दुई ओभरमा ७९ रनमा ६ विकेट गुमाएर खराब स्थितिमा पुग्यो ।

तर सुर्यकुमार यादवले जयदेव उनादकटसँग मिलेर सातौँ विकेटका लागि ४१ बलमा आक्रामक ७२ रनको साझेदारी गर्दै मुम्बईलाई सम्मानजनक योगफल सम्म पुर्याए । ७२ रन मध्य यादवले २७ बलमा ५६ रन प्रहार गरे भने उनादकटले १४ बलमा अविजित १३ रनको पारी खेले ।  

मुम्बईलाई सानो योगफलमा रोक्ने क्रममा हर्षल पटेल र वानिन्दु हसरंगाले समान २-२ विकेट लिए भने आकाश दिपले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए । 

Click to comment

Trending