Headline

प्रिन्स र तेजसको घातक बलिङमा उत्तर प्रदेशको सहज जित 

Published

on

प्रिन्स शाही र तेजस सिंहले घातक बलिङ गर्दा भैरहवामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको दोश्रो दिनको पहिलो खेलमा उत्तर प्रदेश ११ ले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी माथि आठ विकेटको सहज जित निकालेको छ ।

प्रिन्सले चार तथा तेजसले तीन विकेट हात पार्दा ट्यालेन्ट हन्ट १८ दशमलब दुई ओभरमा ७७ रन मात्र जोड्दा अल आउट हुन पुग्यो भने उत्तर प्रदेशले ४९ बल अगाडि नै दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।

प्रिन्सले चार ओभरमा मात्र १५ रन दिए भने तीन दशमलब दुई ओभर बलिङ गरेका तेजसले १३ रन मात्र खर्चिए । ट्यालेन्ट हन्टलाई सस्तोमा समेट्ने क्रममा उत्तर प्रदेशका सहिम हसनले चार ओभरमा १८ तथा दिव्य सिंहले दुई ओभरमा आठ रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

उत्तर प्रदेशको जितमा ब्याटिङ तर्फ ओपनर विवेक सिंहले अविजित रहँदै पाँच चौकाको मद्दतमा सर्वाधिक ३३ रन बनाए भने राजेश यादव १५ तथा अर्का ओपनर नितिन राम एक रनमा पेभेलियन फर्किए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर शुभम चौधरीले अविजित १७ रन जोड्दै उत्तर प्रदेशको जित सुनिश्चित गरे ।  

ट्यालेन्ट हन्टका मोहम्मद उमरले सर्वाधिक २० तथा आशिष रत्नमले १६ रन बनाए भने बाँकी कुनै पनि बलरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उनीहरूका दुई ब्याटर उत्तम मगर र फुआद हसन गोल्डेन डक आउट हुन पुगे ।

राज बम र मोहम्मद मुशर्रफले समान १-१ विकेट निकाल्न सफल रहे पनि ट्यालेन्ट हन्टलाई जित दिलाउन भने पर्याप्त रहेन । 

Click to comment

Trending