Headline

म्याराडोनाको कुख्यात ‘ह्याण्ड अफ गड गोल’ जर्सी अक्सनमा राखिने

Published

on

कुख्यात ह्याण्ड अफ गड गोल सहित इंगल्याण्डबिरुद्ध १९८६ मेक्सिको बिश्वकपमा दुई गोल गर्दा अर्जेन्टाइन लेजेण्ड डिएगो म्याराडोनाले लगाएको जर्सीलाई अक्सनमा राखिने भएको छ ।

म्याराडोनाले लगाएको निलो रँगको १० नम्बर जर्सी बिवादास्पद खेलको समाप्तिसँगै जर्सी साटा साट गरेका इंगल्याण्ड मिडफिल्डर स्टिभ होजसँग रहेको छ । म्याराडोनाकै गोलमा इंगल्याण्ड २–१ ले हार्दै बिश्वकपबाट बाहिरिएको थियो ।

अर्जेन्टिनाले इंगल्याण्डसँगको फल्कल्याण्डको युद्ध हारेको चार बर्षपछि भएको उक्त क्वार्टर–फाइनल बिश्वकप इतिहासकै सबैभन्दा यादगार खेलको रुपमा लिइने गरिन्छ । मेक्सिकोको आज्टेक स्टेडियममा भएको उक्त खेल अर्जेन्टिनीहरुको मानस पटलमा अझै पनि ताजै रहने गरेको छ ।

पहिलो हाफ शुरु भए लगत्तै इंगल्याण्डको पेनाल्टी बक्सको ठ्याक्कै बाहिर रहेका होजले अर्जेन्टिनाको पासलाई रोक्दै किपर तर्फ बल फ्लिक गरेका थिए । तर म्याराडोनाले बक्स भित्र दौड लगाउदै इंगल्याण्ड गोलकिपर पिटर सिल्टनको चुनौतिमा उफ्रिएर पञ्च गर्दै गोल गरेका थिए ।

इंगल्याण्डले ह्याण्ड बलको अपिल गरेपनि म्याच अफिसियलहरुले म्याराडोनाले हेडले गोल गरेको बिश्वास गर्दै मान्यता दिएका थिए । म्याराडोनाले बिवादको आगोमा अझै घिउ थप्ने क्रममा उक्त गोल “थोरै म्याराडोनाको हेड र थोरै भगवानको हात (ह्याण्ड अफ गड)” बाट भएको अभिव्यक्ति दिएका थिए ।

चार मिनेटपछि नै म्याराडोनाले अविश्वसनीय गोल गरेका थिए । आफ्नै हाफबाट बल अघि बढाएका म्याराडोनाले बलँसगै द्रुत गतिमा पाँच इंगल्याण्ड खेलाडीलाई पछि पार्दै उत्कृष्ट गोल गरेका थिए । उक्त गोल २००२ को फिफा पोलमा गोल अफ द सेन्चुरी चुनिएको थियो ।

फाइनल जित्दै अर्जेन्टिनाले ८ बर्षमा दोश्रो पटक बिश्वकप उपाधि चुमेपछि त्यसअघि नै सुपरस्टारको दर्जा बनाएका म्याराडोनालाई आफ्नो देशमा भगवान सरह मानिन थालियो । २०२० मा ह्रदयघातबाट मृत्यु भएपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको थियो ।

“द म्यान विथ म्याराडोनाज सर्ट” अटोबायोग्राफी लेखेका होजले पछिल्लो २० बर्षदेखि उनको जर्सीलाई म्यानचेस्टरको राष्ट्रिय फुटबल संग्राहलयमा सर्वसाधारणले हेर्नका लागि लोनमा दिएका थिए । जर्सीको अनलाइन अक्सन अप्रिल २० देखि मे ४ सम्म हुनेछ ।

जर्सीका लागि ५२ लाख डलरबाट बोली शुरु हुनेछ ।

Click to comment

Trending