Headline

बाबरको शतकमा पाकिस्तानलाई अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखला 

Published

on

कप्तान बाबर आजमले लगातार दोश्रो शतक प्रहार गर्दा घरेलु टोली पाकिस्तानले अष्ट्रेलिया विरुद्धको एकदिवसीय शृंखला माथि कब्जा जमाएको छ । तीन खेलको शृंखला अन्तर्गत तेश्रो तथा अन्तिम खेलमा नौ विकेटको जित हात पार्दा पाकिस्तानले शृंखला २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो । पहिलो खेलमा ८८ रनले पराजित भएको पाकिस्तानले दोश्रो खेल ६ विकेटले जितेको थियो ।

आजमले शतक तथा ओपनर इमाम उल हकले अर्धशतक प्रहार गर्दा  २११ रनको लक्ष्य पाकिस्तानले एक विकेट गुमाएर ३७ दशमलब पाँच ओभरमा जित दर्ता गर्यो ।

ओपनर फखार जमान १७ रनमा आउट भए पनि इमाम र बाबरले दोश्रो विकेटका लागि अविजित १९० रन जोड्दै पाकिस्तानको जित सुनिश्चित गरे । 

पाकिस्तानको तर्फबाट सर्वाधिक रन जोडेका बाबरले ११५ बल खेल्दै १२ चौकाको मद्धतमा अविजित १०५ रन बनाए । जारी शृंखलामा उनको यो लगातार दोश्रो शतक हो । यस अघि उनले ११४ रनको पारी खेल्दा ३४९ रनको लक्ष्य पाकिस्तानले चार विकेट गुमाएर जित निकाल्न सकेको थियो । बाबर बाहेक इमामले १०० बल खेल्दै ८९ रनको योगदान दिए ।

बाबर खेलको प्लेयर अफ द म्याचका साथै शृंखलाको प्लेयर अफ द सिरिज चुनिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर २१० रन मात्र बनायो । 

अष्ट्रेलियाको तर्फबाट ६१ बल खेलेका एलेक्स केरीले सर्वाधिक ५६ रन बनाए भने शन एबटले ४० बलमा ४९, बेन म्याकडर्मटले ३६ तथा क्यामरुन ग्रिनले ३४ रनको योगदान दिए ।    

ओपनर ट्राभिस हेड पारीको पहिलो बलमा नै शून्य रनमा तथा अर्का ओपनर तथा कप्तान आरोन फ़िञ्च पनि डकआउट हुँदा निकै खराब सुरुवात गरेको अष्ट्रेलियाले ६७ रन बनाउँदा पाँच विकेट गुमाए पनि केरी र ग्रिनले छैटौँ विकेटका लागि ८१ रन जोड्दा सम्मानजनक योगफल सम्म पुर्याउन सफल रह्यो ।

अष्ट्रेलियालाई सानो योगफलमा रोक्ने क्रममा ह्यारिस रौफ र मोहम्मद वसिमले समान ३-३ विकेट लिए भने शाहिन शाह अफ्रिदीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।  


 

Click to comment

Trending