Headline

दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा अपराजित रहँदै नेपाल फाइनलमा, नेपालसँग मलेसिया हार्दा पिएनजीको भाग्य चम्कियो 

Published

on

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले किर्तिमानी शतक प्रहार गर्नुको साथै दुई विकेट हात पार्दा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलामा अपराजित रहँदै फाइनलमा पुगेको छ । शृंखला अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

नेपालसँग मलेसिया हार्दा पपुवा न्यु गिनीको भने भाग्य चम्किएको छ । आजको खेलमा पराजित हुँदा मलेसियाको फाइनल खेल्ने सपना चकनाचुर भएको छ भने पिएनजीले फाइनलमा स्थान सुरक्षित गरेको छ । नेपालले चार मध्य चार खेलमा नै जित हात पार्दा पिएनजी र मलेसियाले समान १-१ खेलमा जित निकाल्न सके पनि पिएनजी नेट रन रेटका आधारमा फाइनलमा पुगेको हो । 

नेपालले दिएको २२४ रनको विशाल लक्ष्य पक्ष्याएको मलेसियाले १९ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । 

मलेसियालाई सस्तोमा रोक्ने क्रममा कप्तान सन्दिप लामिछानेले चार ओभरमा १९ रन दिएर सर्वाधिक तीन विकेट लिए भने कमल सिंह ऐरी र दिपेन्द्रले समान २-२ विकेट हात पारे । त्यस बाहेक कुशल भुर्तेल र रोहित कुमार पौडेलले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।     

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर २२३ रन बनायो । यो नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा तेश्रो ठुलो योगफल हो ।

नेपालको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले अविजित रहँदै ५७ बलमा १० चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ११० रन बनाए । दिपेन्द्रको यो नेपालको तर्फबाट सर्वाधिक स्कोर हो । यस अघि नेपालको तर्फबाट पूर्व कप्तान ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध १०७ रन प्रहार गरेका थिए ।

दिपेन्द्रको एक हप्ताको अन्तरालमा यो दोश्रो शतक हो । यस अघि उनले पपुवा न्यु गिनी विरुद्धको एकदिवसीय शृंखलामा शतक प्रहार गरेका थिए । आजको शतक पछि दिपेन्द्र पूर्व कप्तान पारस खड्का पछि नेपालको तर्फबाट एकदिवसीय र ट्वान्टी ट्वान्टीमा शतक प्रहार गरे दोश्रो खेलाडी बनेका छन् । पारसले युएई विरुद्ध एकदिवसीय र सिंगापुर विरुद्ध ट्वान्टी ट्वान्टीमा आफ्नो शतक पुरा गरेका थिए । 

नेपालको तर्फबाट दिपेन्द्र बाहेक रोहित कुमार पौडेलले ३४ बलमा ५१, आसिफ शेखले १८, कुशल भुर्तेललेल १२ रन बनाएर आउट भए भने आदिल अन्सारीले १४ रनको पारी खेले ।

 

Click to comment

Trending