लेख

यादव र रसेल चम्कँदा पन्जाबको पहिलो हार 

Published

on

तीब्र गतिका बलर उमेश यादवको घातक बलिङ तथा आन्द्रे रसेलको आक्रामक पारीमा १५ औँ संस्करण इन्डियन प्रिमियर लिगमा ६ विकेटको जित हात पार्दा कोलकाता नाइट राइडर्सले दोश्रो जित दर्ता गराएको छ भने पन्जाब किंग्सले पहिलो हारको सामना गरेको छ । 

आजको जित पछि तीन खेलमा चार अंक जोडेको कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पन्जाबले दोश्रो खेल खेल्दा पहिलो हार चाख्यो । 

उमेश यादवले चार विकेट हात पार्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाब १८ दशमलब दुई ओभरमा अलआउट हुँदै १३७ रन जोड्न सफल भयो भने आन्द्रे रसेलले आक्रामक पारी खेल्दै अविजित ७० रन जोड्दा कोलकाताले १४ दशमलब तीन ओभरमा चार विकेट गुमाएर लक्ष्य पार गर्यो ।  

पन्जाबलाई सस्तोमा रोक्ने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित यादवले चार ओभरमा मात्र २३ रन खर्चिए भने टिम साउथीले दुई तथा शिवम मावी, सुनिल नारायण र आन्द्रे रसेलले समान १-१ विकेट हात पारे । निकै महँगो साबित भएका मावीले दुई ओभरमा ३९ रन खर्चिए भने नारायणले चार ओभरमा २३ रन दिए । रसेलले दुई बल गर्दै कुनै पनि रन खर्चिएनन् ।       

पन्जाबका विकेट किपर भानुका राजापाक्षाले नौ बल खेल्दै समान ३-३ चौका र छक्काको मद्दतमा सर्वाधिक ३१ रन बनाए भने तीब्र गतिका बलर कागिसो रबाडाले १० औँ नम्बरमा ब्याटिङ गर्दै २५ रनको योगदान दिए । 

कोलकाताको जितमा ब्याटिङमा नायक बनेका रसेलले ३१ बल खेल्दै दुई चौका र आठ छक्का प्रहार गरे भने कप्तान श्रेयस ऐयरले १५ बलमा २६ तथा अविजित रहेका साम बिलिङ्सले अविजित २४ रनको योगदान दिए ।

पन्जाबका राहुल चाहारले चार ओभरमा १३ रन दिएर सर्वाधिक दुई विकेट हात पारे ।  

 

 

Click to comment

Trending