Headline

टोनी उराले छक्काको वर्षा गर्दा पिएनजी फाइनल नजिक

Published

on

मध्यक्रमका ब्याटर टोनी उराले छक्काको वर्षा गर्दा पपुवा न्यु गिनीले ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा मलेसियालाई आठ विकेटले पराजित गरेको छ । 

जितसँगै पिएनजीको फाइनल खेल्ने आशा जीवित बनेको छ । यस अघि नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ भने भोलि हुने समुह चरणको अन्तिम खेलले मलेसिया र पिएनजीको फाइनलको निर्णय हुनेछ । मलेसियाले नेपाललाई पराजित गरेको खण्डमा फाइनलमा स्थान सुरक्षित गर्नेछ भने मलेसियाले हारेको खण्डमा पिएनजीले नेपालसँग फाइनल खेल्ने छ ।

कप्तान असद भाला र उराले अर्धशतक प्रहार गर्दा १९७ रनको लक्ष्य पछ्याएको पिएनजीले १३ बल अगाडि दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।\

पिएनजीको जितमा उराले ३४ बल खेल्दै दुई चौका र १० छक्का प्रहार गर्दै सर्वाधिक ८६ रन बनाए भने कप्तान भालाले ५१ बलमा ७४ रनको पारी खेले । ६२ रनमा दुई विकेट गुमाएको पिएनजीलाई सहज जित दिलाउने क्रममा उरा र भालाले तेश्रो विकेटका लागि १३५ रनको साझेदार गरे ।

पहिलो बलमा नै लेगा सिकालाई गुमाएर खराब सुरुवात गरेको पिएनजीको लागि भाला र चार्ल्स अमिनीले दोश्रो विकेटका लागि ६२ रन जोड्दै उनीहरुको पारी उकासे । अमिनी २८ रनमा पेभेलियन फर्किए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले कप्तान अहमद फैज र सैयद अजिजको अर्धशतकमा पुरै २० ओभर खेल्दै दुई विकेट गुमाएर १९६ रन बनायो ।

मलेसियाको लागि अजिजले ३५ बलमा सर्वाधिक ६४ रन बनाउँदा कप्तान फैजले ४३ बलमा ६३ रनको पारी खेले । त्यस बाहेक जुबैद जुल्किफ्लेले २२ बलमा समान ४-४ चौका र छक्का सहित आक्रामक ४६ रन बनाए ।

पिएनजीका कबुआ मोरेले सर्वाधिक चार विकेट हात पारे । 

      

 

Click to comment

Trending