Headline

बार्सा र रियलको च्याम्पियन्स लिग खेलले राख्यो दर्शक संख्याको नयाँ बिश्व किर्तिमान

Published

on

महिला च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको बार्सिलोना र रियल म्याड्रिडबीचको क्वार्टर फाइनलले महिला फुटबलमा अहिलेसम्म कै सबैभन्दा बढी दर्शक उपस्थितिको नयाँ बिश्व किर्तिमान कायम राखेको छ ।

क्याम्प नोउमा भएको दोश्रो लेगमा बार्साले रियललाई ५–२ ले पराजित गरेको खेलमा दर्शकको उपस्थिति ९१ हजार ५ सय ५३ रहेको थियो । बार्सा समग्रमा ८–३ को जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

बुधबारको खेलले यसअघि अमेरिका र चीनबीच १९९९ महिला बिश्वकप फाइनलको दर्शक संख्याको किर्तिमानलाई तोडेको हो । पासाडेनाको रोज बाउलमा भएको उक्त खेलमा ९० हजार १ सय ८५ दर्शकको उपस्थिति रहेको थियो ।

महिला क्लब फुटबल अन्तर्गत भने बार्सा र रियलको खेलले फराकिलो अन्तरले यसअघिको किर्तिमानलाई पछाडी छोड्यो । महिला क्लब फुटबलमा यसअघि सबैभन्दा बढी दर्शक संख्या मार्च २०१९ मा एट्लेटिको म्याड्रिड र बार्सिलोनाबीचको खेलमा रहेको थियो । उक्त खेललाई ६० हजार ७ सय ३९ दर्शकले प्रत्यक्ष हेरेका थिए ।

डिफेन्डिँग च्याम्पियन बार्सिलोनाले अब सेमिफाइनलमा इङ्गलिस टोली आर्सनल अथवा जर्मन क्लब उल्फ्सबर्गको सामना गर्नेछ । दुई टोलीबीचको पहिलो लेग १–१ को बराबरीमा टुँगिएको थियो ।

Click to comment

Trending