Headline

अलिसा हिलीको शतकमा अष्ट्रेलिया महिला विश्वकपको फाइनलमा 

Published

on

विकेट किपर तथा ओपनर अलिसा हिलीले शतक प्रहार गर्दा अष्ट्रेलिया न्युजिल्यान्डमा जारी महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाले फाइनलमा स्थान बनाउने क्रममा वेस्ट इन्डिजलाई १५७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

हिलीरेचल हेन्सले पहिलो विकेटका लागि ३२ दशमलब चार ओभरमा २१६ रनको साझेदारी गर्दा अष्ट्रेलियाले ४५ ओभरमा छोट्टाएको खेलमा तीन विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनायो भने वेस्ट इन्डिजलाई ३७ ओभरमा मात्र १४८ रनमा रोक्यो ।

खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियालाई वेस्ट इन्डिजका बलरहरुले खुलेर खेल्ने मौका नदिँदा उसले पावर प्लेमा नौ ओभर खेल्दै ३७ रन मात्र जोड्न सक्यो । 

सुरुवातमा रन जोड्न निकै संघर्ष गरेकी हिलीले पहिलो २५ बलमा मात्र १० रन जोड्न सकिन भने उनले आफ्नो अर्धशतक ६३ बलमा पुरा गरिन् । तर त्यस पछि निकै आक्रामक खेलेकी उनले आफ्नो दोश्रो अर्धशतक २८ बलमा पुरा गर्दै शतक पनि बनाउन सफल रहिन् ।  

हिलीले १०७ बल खेल्दै १७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक १२९ रन प्रहार गरिन् भने हेन्सले १०० बलमा नौ चौका सहित ८५ रनको पारी खेलिन् । 

३०६ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले सुरुवात राम्रो गर्न सकेन । ओपनर रशादा विलियम्स शून्य रनमा आउट भए पछि क्रिजमा आएकी हेली म्याथ्युज र ओपनर डिएन्ड्रा डोटिनले समान ३४-३४ रन जोड्दै वेस्ट इन्डिजको पारी सम्हाले । वेस्ट इन्डिजको तर्फबाट कप्तान स्टेफानी टेलरले सर्वाधिक ४८ रन बनाए पनि त्यस पछिका ब्याटरले बोर्डमा ठुलो स्कोर जोड्न नसक्दा फराकिलो हारको सामना गर्न बाध्य भयो ।

अष्ट्रेलियाको तर्फबाट जेस जोनासनले सर्वाधिक दुई विकेट हात पारिन् ।

२० रनको अन्तरालमा तीन विकेट गुमाएको अष्ट्रेलियाको लागि कप्तान मेग लानिंगबेथ मुनीले अविजित रहँदै क्रमश २६ बलमा २६ रन तथा ३१ बलमा ४३ रन जोडे । उनिहरुले चौथों विकेटका लागि अविजित ६९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विशाल योगफल सम्म  पुर्याए ।    

Click to comment

Trending