Headline

आसिफको अर्धशतकमा नेपाल फाइनल नजिक

Published

on

ओपनर आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गर्दा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गतको आफ्नो दोश्रो खेलमा मलेसिया माथि ६ विकेटको सहज जित हात पारेको छ । यससँगै लगातार दोश्रो जित निकाल्दा नेपाल फाइनल नजिक पनि पुगेको छ ।

११५ रनको लक्ष्य नेपालले १३ दशमलब चार ओभर खेल्दै चार विकेटको नोक्सानीमा जित हात पार्यो ।  

नेपालको जितमा आसिफले सर्वाधिक ५७ रन बनाए । ३८ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे । आसिफ बाहेक अर्का ओपनर कुशल भुर्तेल एक, रोहित कुमार पौडेल १२, दिपेन्द्र सिंह ऐरी २१ रनमा आउट भए भने आजको खेलमा डेब्यु गरेका दिलिप नाथले अविजित १५ रनको योगदान दिए ।

मलेसियाका पवनदिपले सर्वाधिक दुई विकेट हात पारे ।    

यस अघि नेपाली बलरहरु हाबी हुँदा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ११४ रन मात्र जोड्न सक्यो ।

मलेसियाका ओपनर विरनदिप सिंह पारीको पहिलो बलमा नै करण केसीको बलमा बोल्ड भए भने अर्का ओपनर जुबैद जुल्किफलले कुशल मल्लको बलमा बोल्ड हुनु अघि १५ बलमा सर्वाधिक ३२ रन बनाए । त्यस बाहेक कप्तान अहमद फैजले २४, मुहम्मद अमिरले १६ तथा सैयद अजिजले १४ रनको योगदान दिए ।    

मलेसियालाई सस्तोमा रोक्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछाने र करणले समान २-२ विकेट हात पारे भने कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । सन्दिपले चार ओभरमा २७ रन तथा करणले तीन ओभरमा १६ रन दिए भने किफायती बलिङ गरेका दिपेन्द्रले चार ओभरमा एक मेडन सहित १४ रन मात्र खर्चिए । त्यस्तै एक ओभर बलिङ गरेका कुशलले तीन रन खर्चिए ।    

 

Click to comment

Trending