Headline

इमामले शतक प्रहार गरे पनि हेडको अलराउण्ड प्रदर्शन र जम्पाको स्पिनमा पाकिस्तानको लज्जास्पद हार 

Published

on

पाकिस्तानका ओपनर इमाम उल हकले शतक प्रहार गरे पनि अष्ट्रेलियाका ओपनर ट्राभिस हेडको शतक तथा एडम जाम्पाले घातक बलिङ गर्दा घरेलु टोली पहिलो एकदिवसीय खेलमा ८८ रनको लज्जास्पद हारको सामना गरेको छ । आजको खेलमा जित हात पारेसँगै पाहुना टोली अष्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिन सफल भएको छ । 

ओपनर इमाम उल हकले शतकीय पारी खेले पनि पछिल्लो पाँच विकेट २१ रनको अन्तरालमा गुमाउँदा पाकिस्तानले खेल पनि गुमाउन पुग्यो । जितका लागि ३१४ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४५ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर २२५ रन मात्र जोड्न सक्यो ।

पाकिस्तानको तर्फबाट ओपनर उल हकले ९६ बल खेल्दै ६ चौका र तीन छक्का अहित सर्वाधिक १०३ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान बाबर आजमले पनि ७२ बलमा ५७ रनको पारी खेले । त्यस बाहेक पाकिस्तानका लागि कुनै पनि ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

ओपनर फकार जमान १८ रनमा आउट भए पछि क्रिजमा आएका कप्तान आजमले उल हकसँग मिलेर दोश्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै पाकिस्तानको पारी सम्हाल्ने प्रयास गरे । तर आजमको विकेटको पतन पछि पाकिस्तानको लागि उल हकले एक छोडबाट पारी सम्हाल्ने प्रयास गरे पनि उनले अर्को छोडबाट साथ पाउन सकेनन् ।

शतक प्रहार गरे पछि उल हक आउट हुँदा पाकिस्तानले बाँकी पाँच विकेट २१ रनको अन्तरालमा गुमाउन पुग्यो । उसका अन्य ब्याटरमा साउद शकिल तीन, विकेट किपर मोहम्मद रिजवान १०, इफ्तिखार अहमद दुई, खुशदिल शाह १९, हसन अली दुई, मोहम्मद वसिम गोल्डेन डक आउट तथा ह्यारिस रौफ सात रनमा आउट भए ।       

अष्ट्रेलियालाई फराकिलो जित दिलाउने क्रममा अष्ट्रेलियाका एडम जम्पाले सर्वाधिक चार विकेट हात पार्दा मिचेल स्वेपसनट्राभिस हेडले समान २-२ विकेटतथा सेन एबटनेथन एलिसले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गराए । किफायती बलिङ गरेका जाम्पाले १० ओभरमा मात्र २८ रन दिए । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै सात विकेट गुमाएर ३१३ रनको विशाल योगफल खडा गर्यो ।

अष्ट्रेलियाको तर्फबाट खेलको प्लेयर अफ द म्याच घोषित ट्राभिस हेडले सर्वाधिक १०१ रनको पारी खेले । ओपनिङमा आएका हेडले ७२ बलको सामना गर्दै १२ चौका र तीन छक्का प्रहार गरे ।

हेड बाहेक अष्ट्रेलियाको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका बेन म्याकडरमत ७० बलमा ५५, ओपनर तथा कप्तान आरोन फ़िञ्च २३, मार्नस लाबुशेन २५ तथा मार्कस स्टोइनिस २६ रन बनाएर आउट भए भने क्यामरुन ग्रिनले अविजित ४० रनको योगदान दिए ।

पाकिस्तानका ह्यारिस रौफ र जाहिद महमुदले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । 

 

 

Click to comment

Trending