Headline

नेपालको सनसनीपूर्ण जित 

Published

on

चार बलको अन्तरालमा तीन विकेट हात पार्दा नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजी माथि १५ रनको सनसनीपूर्ण जित हात पारेको छ ।

जितका लागि १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

१९ औं ओभरको पाँचौं बलमा करण केसीले आक्रामक अर्धशतक बनाएका नोर्मन भानुवाको विकेट लिए पछि नेपालको जित सम्भब भएको हो । त्यस पछिको बलमा सिमोन अटाई तथा १९ औँ ओभरको दोश्रो बलमा आलेइ नाओको विकेट लिएसँगै नेपालले जित हात पार्यो ।

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका भानुवाले २९ बलमा पाँच चौका र चार छक्का सहित आक्रामक २९ रन बनाउँदा पिएनजी खेलमा फर्कने प्रयासमा रहेको थियो । तर करणको बलमा आउट हुँदा एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको पिएनजीको ट्वान्टी ट्वान्टीमा पनि जितबाट सुरु गर्ने सपना चकनाचुर भयो ।

पिएनजीको तर्फबाट सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ तथा लेगा सिकाले २१ रनको योगदान दिए ।

नेपालका करण केसी र सन्दिप लामिछानेले समान ३-३ विकेट हात पारे भने अविनाश बोहराले पनि दुई विकेट हात पारे ।   

यस अघि मध्यक्रममा २९ रनको अन्तरालमा पाँच विकेट गुमाउँदा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १८३ रन बनायो । 

नेपालको तर्फबाट ओपनर आसिफ शेखले सर्वाधिक ४३ रन बनाए भने रोहित कुमार पौडेलले ३४ तथा अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । 

आक्रामक ब्याटिङ गर्दै ११ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका कुशल दुर्भाग्यपूर्ण रन आउट हुन पुग्दा तेश्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालको लागि आसिफ र रोहितले दोश्रो विकेटका लागि नौ ओभरमा ८० रनको साझेदारी गरे । चार रनको अन्तरालमा आसिफ र रोहित आउट भए ।

दिपेन्द्र सिंह ऐरी चार, कुशल मल्ल ११, लोकेश बम पाँच, करण केसी सात बलमा १४ रनमा आउट भए भने अन्तिम ओभरमा आउट भएका आरिफ शेखले २२ बलमा तीन चौका र दुई छक्का सहित ३१ रनको पारी खेले ।

पिएनजीका चाद सोपर, चार्ल्स अमिनी र आलेइ नाओले समान २-२ विकेट हात पारे । 

    

Click to comment

Trending