Headline

३६ बर्षपछि क्यानडा बिश्वकपमा

Published

on

जमैकामाथि शान्दार जित हात पार्दै क्यानडा ३६ बर्षपछि बिश्वकपमा प्रवेश गरेको छ । कोन्काकाफ क्षेत्रको छनोटमा क्यानडाले आइतबार भएको खेलमा जमैकालाई ४–० ले पराजित गर्यो ।

यसअघि १९८६ मा पछिल्लो पटक बिश्व फुटबलको महाकुम्भमा सहभागिता जनाएको क्यानडा छनोटमा एक खेल बाँकी छदै बिश्वकपमा प्रवेश गरेको हो । क्यानडा दोश्रो पटक बिश्वकपमा सहभागिता जनाउन गइरहेको हो ।

गत साता कोस्टा रिकाबिरुद्ध १–० ले पराजित भएपछि क्यानडाले दुई खेल अघि नै बिश्वकपमा छनोट हुने मौका गुमाएको थियो । तर जमैकाबिरुद्ध भने उ पूर्ण रुपमा हावी हँुदै एकपक्षीय नतिजा निकाल्न सफल रह्यो ।

बिएमओ फाइल्डमा भएको घरेलु खेलमा क्यानडालाई फराकिलो जित दिलाउने क्रममा काइल लारिन, टेजन बुक्यानन र जुनियर होइलेटले गोल गरेका थिए ।

“म निशब्द छु । आज सपना पुरा भएको छ । हामी सबैले सानो बच्चा बेलामा देखेको सपना आज पुरा गर्न सफल भएको छौं । क्यानेडियनको रुपमा यो असम्भव जस्तै थियो । तर आज हामीले असम्भवलाई सम्भव बनाएका छौं,” दर्शकसँगै खुशीयाली मनाउने क्रममा जोनाथन ओसोरियोले भने ।

जोन हर्डम्यान क्यानडाको महिला र पुरुष दुवै टोलीलाई बिश्वकप पुर्याउने एक मात्र प्रशिक्षक पनि भएका छन् । उनले २०११ देखि २०१८ सम्म क्यानडेली महिला राष्ट्रिय फुटबल टोलीको बागडोर सम्हालेका थिए ।

हर्डम्यानले यो शुरुवात मात्रै भएको बताए । “क्यानडा फुटबल राष्ट्र हो । यो हामीले बिश्वास गर्नु पर्छ । अब यस्ता दिनहरु अझै आउने छन्, यो त शुरुवात मात्रै हो,” हर्डम्यानले भने ।

क्यानडा २८ अंकका साथ शिर्ष स्थानमा छ भने गोल अन्तरको आधारमा मेक्सिकोलाई पछि पार्दै अमेरिका दोश्रो स्थानमा छ । एल साल्भाडोरलाई २–१ ले हराएको कोस्टा रिका भने २२ अंकका साथ तेश्रो स्थानमा रहेको छ ।

कोन्काकाफ क्षेत्रबाट शिर्ष तीन स्थानमा रहने टोली सिधै बिश्वकपका लागि छनोट हुनेछन् । चौथो स्थानको टोलीले ओसियाना क्षेत्रबाट आउने टोलीसँग प्लेअफ खेल्नेछ ।

Click to comment

Trending