Headline

शाहरुख खान र स्मिथले आक्रामक पारी खेल्दा पन्जाबको सनसनीपूर्ण जित 

Published

on

जितका लागि अन्तिम ३१ बलमा ५० रन चाहिएको अवस्थामा ओडिन स्मिथ र शाहरुख खानले आक्रामक पारी खेल्दै २५ बलमा ५२ रन जोडे पछि पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलोर माथि ६ बल अगावै पाँच विकेट विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

जितका लागि २०६ रनको विशाल लक्ष्य पन्जाबले छ बल अगावै पाँच विकेट गुमाएर लक्ष्य पार गर्यो ।   

अन्तिम तीन ओभरमा ३६ रन चाहिएको अवस्थामा स्मिथले मोहम्मद सिराजको एकै ओभरमा तीन छक्का र एक चौका सहित कुल २५ रन जोड्दा बेंगलोरको जित सहित सुरुवात गर्ने सपना चकनाचुर भयो । त्यस पछिको ओभरमा खानले एक चौका र एक छक्क सहित १५ रन जोड्दै पन्जाबको जित सुनिश्चित गरे । अविजित रहेका स्मिथ र खानले क्रमश आठ बलमा २५ तथा २० बलमा २४ रनको पारी खेले । स्मिथले एक चौका र तीन छक्का र खानले पनि एक चौका र दुई छक्का प्रहार गरे ।  

पन्जाबको जितमा ओपनर शिखर धवन र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर भानुका राजापाक्षाले क्रमश २९ बलमा पाँच चौका र एक छक्का तथा २२ बलमा दुई चौका र चार छक्का सहित समान ४३-४३ रन बनाए भने ओपनिङमा आएका कप्तान मायंक अगरवालले ३२ रनको योगदान दिए ।  

बेंगलोरका मोहम्मद सिराज निकै महँगो साबित हुँदै चार ओभरमा ५९ रन खर्चिए पनि सर्वाधिक दुई विकेट लिए भने आकाश दिप, वानिन्दु हसरंगाहर्षल पटेलले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

यस अघि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय तथा विराट कोहली र दिनेश कार्तिकले आक्रामक पारी खेल्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै दुई विकेट गुमाएर २०५ रनको विशाल योगफल खडा गर्यो ।

बेंगलोरको लागि ओपनिङमा आएका कप्तान डु प्लेसिसले ५७ बलको सामना गर्दै तीन चौका र सात छक्काको मद्धतमा सर्वाधिक ८८ रन बनाए । उनले पहिलो विकेटका लागि अर्का ओपनर अनुज रावत (२१ रन) सँग मिलेर पहिलो विकेटका लागि सात ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । 

त्यस पछि डु प्लेसिसले तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान कोहलीसँग मिलेर ६१ बलमा ११८ रनको आक्रामक साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल तर्फ पुर्याए । डु प्लेसिसको विकेटको पतन पछि पनि बेंगलोर रोकिएन ।

आफ्नो पारीको अन्तिम १७ बल बाँकी हुँदा क्रिजमा आएका विकेट किपर दिनेश कार्तिकले १४ बल खेल्दै समान ३-३ चौका र छक्का सहित अविजित ३२ रन बनाए भने अविजित रहेका बेंगलोरका पुर्व कप्तान कोहलीले २९ बलमा एक चौका र दुई छक्का सहित अविजित ४१ रनको पारी खेले ।

पन्जाबका राहुल चाहरले चार ओभरमा मात्र २२ रन खर्चिएर तथा अर्शदिप सिंहले चार ओभरमा नै ३१ रन दिएर समान १-१ विकेट हात पारे ।

 

Click to comment

Trending