Headline

नेपालले पहिलो पटक द्विपक्षीय एकदिवसीय शृंखला हार्यो

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक द्विपक्षीय एकदिवसीय शृंखला गुमाएको छ । घरेलु मैदान टियु क्रिकेट मैदानमा जारी पिएनजी विरुद्धको दोश्रो खेलमा तीन विकेटको हारको सामना गर्दा नेपाल दुई खेलको शृंखलामा क्लिन स्विप हुन पुग्यो ।    

नेपालले दिएको २७९ रनको लक्ष्य पिएनजीले ४८ दशमलब चार ओभर खेल्दै सात विकेट गुमाएर जित हात पार्यो  

पिएनजीको जितमा लेगा सिकाले सर्वाधिक ९० रन बनाए भने रिले हेकुरले अविजित ४८, सेसे बाउले ३८ तथा चार्ल्स अमिनिले ३५ रनको योगदान दिए ।

नेपालको तर्फबाट सोमपाल कामीले सुरुवातमा नै दुई सहित कुल तीन तथा पवन सर्राफले दुई विकेट लिए पनि नेपाललाई जित दिलाउन पर्याप्त रहेन ।

यस अघि दिपेन्द्र सिंह ऐरीले एकदिवसीयमा पहिलो शतक तथा देव खनालले पहिलो अर्धशतक प्रहार गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २७८ रन बनायो ।  

नेपालको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले सर्वाधिक १०५ रनको पारी खेले । आफ्नो व्यक्तिगत पहिलो तथा नेपालको तर्फबाट तेश्रो शतक प्रहार गरेका दिपेन्द्रले १४० बल खेल्दै सात चौका प्रहार गरे ।यस अघि नेपालको लागि सन् २०१९ मा पूर्व कप्तान पारस खड्का युएई विरुद्ध तथा हिजो सम्पन्न पिएनजी विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहित कुमार पौडेलले शतक प्रहार गरेका थिए ।

ओपनर कुशल भुर्तेल रोयल डकआउट हुँदा अर्का ओपनर अनिल कुमार शाहले पनि एक रन भन्दा जोड्न सकेनन् । खराब सुरुवात गरेको नेपालको पारी सम्हाल्ने क्रममा देव र दिपेन्द्रले तेश्रो विकेटको लागि १२९ रनको साझेदारी गरे । यो नेपालको तर्फबाट एकदिवसीय खेलमा सर्वाधिक ठुलो साझेदारी पनि हो । हिजो आफ्नो डेब्यु खेलमा डक आउट भएका देवले आफ्नो दोश्रो एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्न सफल रहे । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ८६ बलको सामना गर्दै चार चौका र तीन छक्काको मद्दतमा ७२ रनको पारी खेले ।

त्यस पछि आएका रोहित कुमार पौडेलले ३६ बलमा ३५ रन तथा भिम सार्कीले १९ बलमा २६ रन जोड्दै नेपालको स्कोर बढाई राखे । नेपालले सात बलमा चार विकेट गुमाए पनि नेपालका कप्तान सन्दिप लामिछानेलेले नौ बलमा दुई चौका र एक छक्का सहित अविजित २४ रनको योगदान दिए ।

 पिएनजीका अलेई नाओले सर्वाधिक तीन विकेट हात पार्दा नोर्मन भनुवाले पनि दुई विकेट  हात पारे ।   

     

 

Click to comment

Trending