Headline

दिपेन्द्रको पहिलो शतक, देवको अद्र्धशतकमा नेपालले बनायो चुनौतिपूर्ण योगफल

Published

on

दिपेन्द्र सिँह ऐरिको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक र डेब्यु प्रतियोगिता खेलिरहेका देव खनालले आकर्षक अद्र्धशतक प्रहार गरेपछि नेपालले पपुवा न्युगिनी बिरुद्धको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा २ सय ७८ रनको चुनौतिपूर्ण योगफल खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिती पहिलो ब्याटिँग गरेको नेपालले खराब शुरुवातका बावजुद ५० ओभरमा ८ विकेटको गुमाउदै राम्रो योगफल खडा गर्न सफल भयो । यसअघिका १६ एकदिवसीय अन्तर्राष्ट्रियमा अद्र्धशतक पनि प्रहार नगरेका दिपेन्द्रले १ सय ३६ बलमा तीन अंकको कोशेढुँगा पुरा गरेका थिए । १ सय ४० बलको सामना गरेका दिपेन्द्रले ७ चौकाको सहयोगमा १ सय ५ रन जोडेका थिए ।

दिपेन्द्र नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेश्रो ब्याट्स्म्यान बनेका थिए । २०१९ मा पुर्व कप्तान पारस खड्काले युएईबिरुद्ध पहिलो शतक बनाएपछि शुक्रबार रोहित कुमार पौडेलले पिएनजीबिरुद्ध शतक बनाएका थिए ।

नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो दोश्रो सर्वाधिक योगफल पनि रहन गयो । शुक्रबार नै नेपालले ६ रनको हार बेहोर्दा बनाएको २ सय ८६ रन नेपालको लागि सबैभन्दा ठूलो योगफल रहेको थियो ।

शनिबार कुशल भुर्तेललाई इनिङ्गसको पहिलो बल र अनिल कुमार साह (१) लाई तेश्रो ओभरको शुरुवातमै आले नाओले पेभिलियन फर्काउदा नेपालले जम्मा पाँच रन जोडेको थियो ।

त्यसपछि देव र दिपेन्द्रले तेश्रो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको लागि कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो पार्टनरसिप गरेका थिए । देव र दिपेन्द्रले १ सय २९ रनको साझेदारी गर्दै शुक्रबार आरिफ शेख र रोहित कुमार पौडेलको १ सय ४ रनको किर्तिमान तोडेका थिए ।

सुस्त शुरुवाता गरेका देवले ८६ बलमा ७२ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरे । देव आउट भएपछि दिपेन्द्रले फर्ममा रहेका रोहितसँग अर्को ५८ रन जोडेका थिए । रोहितले ३६ बलमा तीन चौकाको मद्दतमा ३५ रन बनाए ।

दिपेन्द्रले शतक पुरा गर्दै भिम सार्की (२६) सँग ५५ रन पनि जोडेका थिए । ४८ औं ओभरमा नर्मन भनुवाले दिपेन्द्र र भिमलाई लगातार आउट गर्नुका साथै आरिफ शेखलाई रनआउट गरेका थिए । नेपालले लगत्तै पवन शर्राफलाई पनि गुमाएको थियो ।

कप्तान सन्दिप लामिछानेले ९ बलमा २४ रन बनाएपछि नेपाल ठूलो योगफल बनाउन सफल भएको थियो । नेपालले भनुवाले गरेको अन्तिम ओभरमा १६ रन जोडेको थियो । पिएनजीका लागि नाओले सर्वाधिक तीन विकेट लिएका थिए ।

Click to comment

Trending