Headline

नर्थ मेसेडोनियासँग हारेपछि इटालीको बिश्वकप सपना ध्वस्त

Published

on

युरो कप बिजेता इटाली नर्थ मेसेडोनियासँग स्तब्ध भएपछि चार पटकको बिश्व बिजेता एक पटक फेरि बिश्वकपमा छनोट हुनबाट चुकेको छ ।

पालेर्मोमा भएको युरोपियन प्लेअफमा इटाली नर्थ मेसेडोनियासँग १–० ले स्तब्ध हुन पुग्यो । युरो कप फाइनलमा इंगल्याण्डलाई पराजित गर्दै युरोपको राजा बनेको इटाली लगातार दोश्रो पटक बिश्वकपमा छनोट हुनबाट चुकेको हो ।

इटाली २०१८ मा रुसमा भएको बिश्वकपमा पनि छनोट हुनबाट चुकेको थियो । त्यो समय उ ६० बर्षमा पहिलो पटक बिश्वकपमा छनोट हुन असफल रहेको थियो ।

पुर्व युगोस्लाभियाको एक राज्य रहेको नर्थ मेसेडोनिया बिश्व बरियतामा ६७ औं स्थानमा रहेको छ भने हालसम्म बिश्वकप नखेलेको उ पहिलो पटक बिश्व फुटबलको महाकुम्भको यति नजिक पुगेको हो । नर्थ मेसेडोनियाले ठूलो टिमलाई शिकार बनाएको यो पहिलो पटक भने होइन ।

यसअघि उसले बिश्व फुटबलको अर्को महारथी जर्मनीलाई पनि हराइसकेको छ । यसपटक अति रक्षात्मक रणनीति अपनाउदै उसले अर्को ठूलो टोलीलाई ढालेको हो ।

खेलमा ३० पटकको प्रयासमा ५ पटक अन टार्गेट प्रहार गरेको इटालीले नर्थ मेसेडोनियाको डिफेन्सलाई तोड्न सकेको थिएन । नर्थ मेसेडोनियाले अब प्ले अफ फाइनलमा अर्को युरोपियन च्याम्पियन पोर्चुगलको सामना गर्नेछ ।

पोर्चुगलले यो समुहको अर्को प्लेअफ सेमिफाइनलमा टर्कीलाई ३–१ ले पराजित गर्यो । पोर्चुगलको जितमा एडमिल्सन, डिओगो जोटा र म्याथिउस नुनेसले गोल गरे । टर्कीका लागि बुराक यिल्माजले एक गोल फर्काएका थिए ।

नर्थ मेसेडोनियन फुटबल इतिहासकै ठूलो जित हात पार्ने क्रममा अतिरिक्त समयको दोश्रो मिनेटमा एलेक्जेन्डर ट्राकोभ्स्कीले गोल गरेका थिए ।

Click to comment

Trending