Headline

तास्किनले घातक बलिङ गर्दा बंगलादेशलाई दक्षिण अफ्रिका विरुद्ध ऐतिहासिक शृंखला

Published

on

तास्किन अहमदले घातक बलिङ गर्दै पाँच विकेट हात पार्दा बंगलादेशले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा नौ विकेटको जित हात निकाल्दै दक्षिण अफ्रिकाको घरेलु मैदानमा ऐतिहासिक शृंखला जितेको छ । पहिलो पटक दक्षिण अफ्रिकालाई उसकै घरेलु मैदानमा माथ दिने क्रममा बंगलादेशले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्ष्यमा पारेको हो ।

तास्किनले पाँच विकेट लिँदा दक्षिण अफ्रिकालाई ३७ ओभरमा १५४ रनको सानो योगफलमा रोकेको बंगलादेशले कप्तान तमिम इकबालको अर्धशतकको मद्दतमा एक विकेट गुमाएर २६ दशमलब तीन ओभरमा नै जित दर्ता गरायो ।

दक्षिण अफ्रिकालाई सानो योगफलमा रोक्ने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित तास्किनले नौ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने शकिब अल हसनले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

ब्याटिङ तर्फ अविजित रहेका कप्तान तमिमले ८२ बलमा १४ चौका सहित सर्वाधिक ८७ रन बनाए भने अर्का ओपनर लिटन दासले ५७ बलमा ४८ रनको पारी खेले भने शकिबले अविजित १८ रनको योगदान दिए । तमिम र दासले पहिलो विकेटका लागि २० दशमलब पाँच ओभरमा १२७ रन जोड्दै बंगलादेशको जित सहज बनाएका थिए ।

तास्किनको बलिङ सामु निरिह भएको दक्षिण अफ्रिकाको लागि यानेमन मलानले सर्वाधिक ३९, केशव महाराजले २८, ड्वेन प्रिटोरियसले २०, डेविड मिलरले १६ तथा क्विन्टन डि ककले १२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Click to comment

Trending