Headline

टिममा एकता गुम्दा निराश छन् प्रशिक्षक दासानायके

Published

on

नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेलाई अहिले टिम भित्रको समस्या लुकाउन मुस्किल परिरहेको छ । निकै नै सहज स्थितिबाटै नेपालले आईसीसी क्रिकेट बिश्वकप लिग टुका दुवै खेलमा युएईलाई नतिजा सुम्पियो ।

पहिलो खेलमा आयोजक टोलीलाई १ सय ६८ रनमै रोकेपनि आफू १ सय २० रनमा अल आउट भएको थियो भने दोश्रोमा २ सय ३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा १ सय ३ रनको झिनो योगफलमै समेटिन पुग्यो ।

यसअघि ओमानमा भएको आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप छनोट दौरान नेपाली टोली मैदानमै खुशीयाली मनाउने क्रममा बिभाजित देखिएको थियो र यो क्रम युएईमा पनि स्पष्ट नै देखिन्छ । नेपालबाट आशा गरिएका प्रमुख ब्याट्स्म्यानहरु नै प्रदर्शन दिइरहेका छैनन् ।

यसअघि सन्दिप र पुबुदुले केही परिवर्तन आवश्यक रहेको बताए पनि प्रशिक्षकले यस पटक भने टिममा एकता नभएको स्पष्ट रुपमा पनि अभिव्यक्ति दिएका छन् । युएईबिरुद्ध दोश्रो खेलमा ९९ रनको लज्जास्पद हारपछि दासानायकेले आफ्नो निराशा पोखेका थिए ।

नेपाल यस्तो देश हो जसले बिदेशी खेलाडीहरुको सहयोग लिदैनन् । यसै कारण पनि उच्च स्तरको प्रतिस्पर्धामा नेपाली ब्याट्स्म्यानहरुले नियमित एक्सपोजर पाइरहेका हुदैनन् । जति गर्नुपर्छ देशभित्रै खेलेर ब्याटिँग तिखार्नु पर्ने बाध्यता छ । ब्याटिँगमा जति कमजोरी छ त्यो हामीले टिम स्पिरिट र एकताका साथ खेल्दै परिपुर्ति गर्नु पर्छ तर यही कुरा अहिले नेपाली टोलीमा छैन, दासानायकेले युएईमा रहेको अनलाइन नेप्लेजलाई भनेका छन् ।

दासानायकेले नेपाली टोली टिमको रुपमा पहिलेको जस्तो नरहेको प्रतिकृया पनि दिएका थिए । जब म पछिल्लो पटक नेपालको प्रशिक्षक थिए सबै खेलाडीहरुले उच्च टिम स्पिरिट र एकै ढिक्का भएर खेल्ने गर्दथे । तर अहिले त्यो स्थिति छैन । आशा गरौं हामी पुरानै लयमा फर्कने छौं, उनले थपे ।

स्थापित तथा सिनियर खेलाडीहरुबाट नै प्रदर्शन नआए पछि दासानायकेले अब आफू युवा खेलाडीबाट बिकल्प खोज्ने तैयारीमा रहेको बताइसकेका छन् । सोमबार क्यानले घरेलु मैदानमै पुपुवा न्युगिनीबिरुद्ध हुने दुई एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखलाको लागि टोली घोषणा गर्दा अण्डर १९ कप्तान देव खनाललाई टिममा समावेश गरिएको थियो भने पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई बिश्राम दिइएको छ ।

यस्तै एकदिवसीय श्रृंखला लगत्तै मलेसिया पनि संलग्न रहेको ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि अर्का अण्डर १९ खेलाडी आदिल अन्सारीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिइएको छ ।

Click to comment

Trending