Headline

यु१९ टोलीका कप्तान देव खनाल पहिलो पटक राष्ट्रिय टोलीमा 

Published

on

नेपाली यु१९ टोलीका कप्तान देव खनाल पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । घरेलु मैदानमा पपुवा न्यु गिनी विरुद्ध आयोजना हुने दुई एकदिवसीय खेलको शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नाम सार्वजनिक गर्दा देवले पनि टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

त्यस्तै आक्रामक शैलीमा खेल्न सक्ने यु१९ टोलीका अलराउण्डर आदिल अन्सारीले पनि नेपाली टोलीमा स्थान बनाउन सफल भएका छन् । आदिलले नेपाल, मलेसिया र पपुवा न्यु गिनी सम्मिलित ट्वान्टी ट्वान्टी शृंखलाका लागि नेपाली टोलीमा स्थान बनाएका हुन् ।  

यु१९ एसिया कपका लागि आयोजना भएको राष्ट्रिय प्रतियोगितामा फाइनलमा सहित चार अर्धशतक बनाएका देवको कप्तानीमा लुम्बिनी प्रदेशले यु१९ राष्ट्रिय प्रतियोगिताको उपाधि चुमेको थियो । उनकै कप्तानीमा नेपालले यु१९ एसिया कप पनि खेलेको थियो । उत्कृष्ट ब्याटिङ क्षमता भएका खनालले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पनि उनले दुई अर्धशतक प्रहार गरेका थिए ।     

नेपालमा हुने दुबै शृंखलाका लागि अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीलाई विश्राम दिइएको छ । एकदिवसीय टोलीमा अनिल शाह र गुलशन झाले आफ्नो स्थान सुरक्षित गरेका छन् भने ट्वान्टी ट्वान्टीमा अविनाश बोहरा, दिलिप नाथ र कुशल मल्ल टोलीमा फर्किएका छन् ।

  

Click to comment

Trending