Headline

युएईसँग नेपालको अर्को लज्जास्पद हार 

Published

on

विश्वकप लिग टु अन्तर्गत युएई विरुद्धको दोश्रो खेलमा पनि ब्याटिङ नचल्दा नेपालले ९९ रनको लज्जास्पद हारको सामना गरेको छ । यस अघिको पहिलो खेलमा १६९ रनको सानो लक्ष्य पछ्याएको नेपालले १२० रन जोड्दा ४८ रनको हारको सामना गर्न बाध्य भएको थियो ।  

युएईले दिएको २०३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ३५ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १०३ रन मात्र जोड्न सक्यो ।

नेपालको तर्फबाट ज्ञानेन्द्र मल्लले ६५ बल खेल्दै सर्वाधिक ३०, आरिफ शेख र सोमपाल कामीले समान १५-१५ तथा विकेट किपर बिनोद भण्डारीले १२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका ओपनरद्वय कुशल भुर्तेल र पवन सर्राफ क्रमश दुई र पाँच रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट भए । रोहित पौडेलले नौ रन जोड्दा करण केसीले चार रन मात्र  बनाउन भ्याए । 

नेपालको पारी ध्वस्त पार्ने क्रममा जुनैद सिद्दिकीले आठ ओभरमा २३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने किफायती बलिङ गरेका काशिफ दाउदले दुई विकेट हात पारे पनि ६ ओभरमा आठ रन मात्र खर्चिए । त्यस बाहेक कप्तान अहमद राजाले दुई तथा बा​​​​​​​सिल हमिदले एक विकेट आफ्नो नाममा दर्ता गराए ।      

यस अघि मध्यक्रमका ब्याटर रोहण मुस्तफाले अर्धशतकीय पारी खेले पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २०२ रन बनायो । 

युएईको तर्फबाट मुस्तफाले ७३ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए भने ओपनरद्वय मुहम्मद वासिम र चिराग सुरीले क्रमश ५१ बलमा ३३ तथा ५४ बलमा २६ रनको पारी खेले । त्यस बाहेक वृत्य अरविन्दले २४ तथा बसिल हमिदले पनि १७ रनको योगदान दिए भने आठौँ नम्बरमा ब्याटिङ गर्दै पारीको अन्तिम बलमा आउट भएका आलिशान शराफुले १३ बलमा २१ रनको आक्रामक पारी खेले । 

वासिम र सुरीले १६ ओभरमा ५७ रन जोड्दै युएईलाई राम्रो सुरुवात दिए । त्यस पछि भने नेपाली बलरहरु  हाबी हुँदा युएईले ठुलो योगफल बनाउन असमर्थ रह्यो । एक छोडबाट लगातार विकेट गुमाए पनि मुस्तफाले आजको खेलमा पनि सम्हालिएर ब्याटिङ गर्दै युएईलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याए ।

नेपालको तर्फबाट कप्तान सन्दिप लामिछानेले सर्वाधिक तीन विकेट हात पार्दा सोमपाल कामी र करण केसीले समान २-२ विकेट तथा दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । सन्दिपले १० ओभरमा ३० रन खर्चिए भने सोमपालले १० ओभरमा नै ४४ रन दिए । त्यस्तै करणले नौ ओभरमा ३६ रन खर्चन पुगे ।

Click to comment

Trending