Headline

लामो समयपछि एल क्लासिकोमा रियलमाथि बार्सिलोनाको दबदबा

Published

on

अवे खेलमै स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडलाई ४–० को फराकिलो जित हात पार्दै बार्सिलोनाले एल क्लासिकोमा लामो समयपछि आफ्नो चीर प्रतिद्वन्दीमाथि दबदबा कायम गरेको छ ।

आइतबार भएको खेलमा पिएरे–एमेरिक औबामेयाङले दुई गोल गर्नुका साथै अर्को एकमा असिस्ट गरेपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीपछिको बार्सिलोनाले रियललाई स्तब्ध बनायो । रियलले यसअघिका पाँच वटै एल क्लासिकोमा बार्सिलोनालाई हराएको थियो ।

आइतबार बार्सिलोनाले सबै पराजयको एकै पटक बदला लिने गरि जित हात पारेको छ । बार्साको लागि जित किन पनि महत्वपूर्ण रह्यो भने सिजनको शुरुवातमा मिड टेबलमा रहेको टोली अब दोश्रो स्थान नजिक पनि पुगेको छ ।

ला लिगामा रियल ६६ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको छ भने दोश्रो स्थानको सेभियाको ५७ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ५४ अंक छ । भारी गोल अन्तर रहेको बार्सिलोनाको तुलनामा एट्लेटिको म्याड्रिडको पनि ५४ अंक छ तर उसले एक खेल बढी खेलेको छ ।

बिवादपछि उत्कृष्ट फर्ममा फर्किएका फ्रेञ्च औस्माने डेम्बेलेको दुई क्रसमा औबामेयाङ र रोनाल्ड अरुजोले गोल गर्दै बार्सालाई पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए । दोश्रो हाफको दोश्रो मिनेटमै औबामेयाङको फ्लिकमा फेरान टोरेसले तेश्रो गोल गरे । त्यसको चार मिनेटमै टोरेसको पासमा औबामेयाङले चिप गर्दै बार्साको फराकिलो जित सुनिश्चित गरेका थिए ।

पछिल्लो १२ खेलमा अपराजित रहेको बार्साको लागि ला लिगा उपाधि अभियानमा ढिलो भइसकेपनि जाभी हर्नान्डेजले परिवर्तन गरेको टोली पछिल्लो केही महिनाको प्रदर्शनले निकै खुशी भने हुनेछ । रियलमाथिको रवाफिलो जित उसको लागि यो सिजन बिशेष रहनेछ ।

“हामी उपाधि जित्न सक्छौं या सक्दैनौं थाहा छैन । शायद धेरै ढिलो पनि भइसक्यो तर यो जित हाम्रो लागि निकै ठूलो हो । हामी रियलभन्दा धेरै राम्रो खेलिरहेको छौं । अवे खेलमा होम टिम जसरी खेल्यौं र बार्सा प्रशिक्षक मात्र नभएर फ्यानको रुपमा पनि आज हामीले आनन्द उठाउने दिन हो,” जाभीले भने ।

Click to comment

Trending