Headline

“कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक पुरा गर्नेछन्” 

Published

on

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ७० वटा शतक प्रहार गरिसकेका छन् । तर पछिल्लो दुई वर्ष भन्दा लामो समय देखि उनले १०० रनको आँकडा पार गर्न भने असमर्थ रहँदै आएका छन् ।

पछिल्लो पटक सन् २०१९ को नोभेम्बरमा बंगलादेश विरुद्धको टेस्टमा शतक प्रहार गरे पछि कोहलीले शतक प्रहार गर्न सकिरहेका छैनन् । दुई वर्ष भन्दा लामो समय शतक बनाउन नसके पनि कोहलीले टेस्टमा ६ तथा एकदिवसीयमा १० अर्धशतक प्रहार गरेका छन् । तर उनी अर्धशतकलाई भने शतकमा परिणत गर्न असमर्थ रहेका छन् ।  

भारतीय टोलीका पूर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले टेस्टमा ५१ तथा एकदिवसीयमा ४९ गरेर १०० शतक आफ्नो नाममा लेखाएका थिए । सबैले कोहलीले सहजै सचिनको नाममा रहेको १०० शतकको किर्तिमान भंग गर्ने अनुमान गरे पनि पछिल्लो समयमा उनको प्रदर्शन हेर्दा त्यो सहज हुने देखिँदैन । 

अहिले आएर धेरैले कोहलीले १०० शतकको आँकडा पुरा गर्न नसक्ने हुन् कि भनेर भन्दै गर्दा भारतीय टोलीका पुर्व ओपनर गौतम गम्भीर भने कोहलीले सचिनको नाममा रहेको १०० शतकको किर्तिमान भंग गर्ने भविष्यवाणी गरेका छन् ।

“म यो कुरामा ढुक्क छु कि कोहलीले सचिनको नाममा रहेको १०० शतकको किर्तिमानको बराबरी गर्नेछन्,” गम्भीरले भने । 

“कोहली कस्ता खेलाडी हुन् मलाई राम्रोसँग थाहा छ । उनले पहिलो शतक प्रहार गर्दा मैले अविजित १५० रन प्रहार गर्दै खेलको प्लेयर अफ द म्याच घोषित भएको थिए । उक्त खेलमा नै कोहलीले आफ्नो खेल जीवनको पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए । उनले ११४ बलमा १०७ रन बनाएका थिए । मैले आफूले पाएको प्लेयर अफ द म्याचको पुरस्कार उनलाई दिएको थिएँ । त्यस बेलामा नै मैले कोहलीले धेरै किर्तिमान भंग गर्ने भनेको थिएँ ।”

“कोहली निकै राम्रा खेलाडी हुन् । सुरुवाती चरणमा उनी आफ्नो फिटनेसलाई त्यति ध्यान नदिए पनि पछिल्लो समयमा उनले खेलाडीका लागि फिटनेस कत्तिको महत्वपूर्ण छ भनेर देखाउन पनि सफल भएका छन् । धेरैले उनको फर्म खस्कियो भन्ने गर्दछन् तर पनि उनले टेस्ट र एकदिवसीयमा गरेर यस दुई वर्षको अवधिमा १६ अर्धशतक प्रहार गरिसकेका छन् । अब उनले छिट्टै नै शतक प्रहार गर्नेछन् र सन्यास घोषणा गर्नु अघि १०० शतक पनि प्रहार गर्नेछन् ।”

३३ वर्षीय कोहलीले १०१ टेस्टमा २७ तथा २६० एकदिवसीयमा ४३ शतक आफ्नो नाममा लेखाइसकेका छन् । 


 

Click to comment

Trending