Headline

मेस्सीको लागि बार्सिलोनाको ढोका जहिले पनि खुला छ

Published

on

बार्सिलोना प्रशिक्षक जाभी हर्नान्डेजले अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीका लागि क्लबको ढोका जहिले पनि खुला रहेको बताएका छन् ।

स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडबिरुद्ध शनिबार हुने अवे एल क्लासिको अघि जाभीले यस्तो प्रतिकृया दिएका हुन् । यद्दपि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्माइनमा निकै नै निराशाजनक सिजन बिताइरहेका मेस्सी बार्सा आउने नै हो भने पनि क्याटलन क्लबको चरम आर्थिक संकटले उनलाई जानबाट रोक्न सक्छ ।

गत साता ला लिगाले बार्सिलोनाका लागि यो सिजन खर्च गर्नका लागि तय गरेको मुल्य १ सय ५९ मिलियन डलर रहेको छ । यसको अर्थ अर्को ट्रान्सफर विन्डोमा कुनै पनि खेलाडी भित्र्याउन बार्साले पर्याप्त बचत गर्नु पर्ने छ ।

गत बर्ष आफूले खर्च धान्न नसक्ने भएपछि बार्सिलोनाले मेस्सीलाई फ्रि एजेन्टको रुपमा क्लब छोड्न दिदै क्याम्प नाउमा उनको ऐतिहासिक करिअरमा पूर्णविराम लगाएको थियो । आफूले मेस्सीलाई ल्याउन सक्ने बिषयमा जाभीले भनेः “उनी इतिहास र क्लब इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । आफ्नो लागि बार्सिलोनाको ढोका खुलाउने अधिकार उनले आफै सृजना गरेका छन् ।”

“जबसम्म म प्रशिक्षक छु, मेस्सीको लागि क्लबको ढोका जहिले पनि खुला रहनेछ । तर उनको पिएसजीसँग सम्झौता रहेको छ र यस बिषयमा म अरु केही भन्न सक्ने अवस्थामा छैन । यदि उनी आउन चाहन्छन्, प्रशिक्षण हेर्न, प्रशिक्षकलाई भेट्न उनलाई सधै स्वागत छ,” जाभीले थपे ।

मेस्सीको अनुपस्थितिमा यो सिजनको शुरुवातमा बार्सिलोना निकै संघर्ष गर्दै आएको छ तर जाभी नोभेम्बरमा प्रशिक्षकको रुपमा क्याम्प नोउ फर्किए यता, टिमलाई परानै लयमा फर्काउने अभियानमा केही हदसम्म सफल भइरहेका छन् ।

झण्डै आधा सिजनको समाप्ति नजिकिदा नवौं स्थानमा रहेको बार्सिलोना अहिले तेश्रो स्थानमा रहदै अर्को सिजनको च्याम्पियन्स लिग दौडमा कायमै रहेको छ । आइतबार रियललाई पराजित गर्दै जाभी आफूलाई साबित गर्न आतुर हुनेछन् ।

Click to comment

Trending