Headline

भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा 

Published

on

कप्तान मेग लानिंग र विकेट किपर तथा ओपनर एलिसा हिलीले अर्धशतकीय पारी खेल्दा भारत माथि ६ विकेटको रोमान्चक जित निकाल्दै अष्ट्रेलिया न्युजिल्यान्डमा जारी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पाँच खेल खेलेको अष्ट्रेलियाले शतप्रतिशत नतिजा निकाल्न सकेको छ भने पाँच खेल नै खेलेको भारतको यो तेश्रो हार हो । अष्ट्रेलियाको १० अंक हुँदा भारतको मात्र चार अंक छ । आजको हार पछि भारतको सेमिफाइनल यात्रा कठिन बन्न पुगेको छ ।    

भारतले दिएको २७८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ दशमलब तीन ओभर खेल्दै चार विकेट गुमाएर लक्ष्य पार गरेको हो ।   

अष्ट्रेलियाको जितमा कप्तान लानिंगले सर्वाधिक ९७ रनको पारी खेलिन् । शतक बनाउनबाट तीन रनले चुकेकी उनले १०७ बलको सामना गर्दै १३ चौका प्रहार गरिन् । लानिंग बाहेक अष्ट्रेलियाको जितमा ओपनरद्वय एलिसा हिलीरेचल हेंसले क्रमश ६५ बलमा ७२ रन तथा ५३ बलमा ४२ रनको पारी खेले । 

ओपनरहरु हेंसहिलीले पहिलो विकेटका लागि १९ दशमलब दुई ओभरमा १२१ रन जोड्दै अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाए । तर दुई रनको अन्तरालमा दुबै पेभेलियन फर्किए पनि कप्तान लानिंगले एलिस पेरीसँग मिलेर तेश्रो विकेटका लागि १२३ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई जित तर्फ डोर्याए । १२३ रनको साझेदारीमा पेरीले २८ रन जोड्दै आउट हुन पुगिन् ।

त्यस पछि बेथ मुनी र लानिंगले अष्ट्रेलियालाई जित नजिक पुर्याए । आफ्नो शतक पुरा गर्न तीन रन आवश्यक रहेको अवस्थामा लानिंग ४८ दशमलब चार ओभरमा आउट भए पनि मुनीले २० बलमा ३० रन प्रहार गर्दै अष्ट्रेलियालाई सेमिफाइनलको यात्रा तय गराइन् ।

भारतको तर्फबाट पूजा बस्तारकरले सर्वाधिक दुई विकेट हात पार्दा राजेश्वरी गायकवाड र स्नेह राणाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले यास्तिका भाटिया, मिथाली राज र हरमनप्रित कौरको अर्धशतकमा पुरै ५० ओभर खेल्दै सात विकेट गुमाएर २७७ रनको विशाल योगफल तयार पार्यो ।

ओपनरद्वय स्मृति मन्धना र शेफाली वर्मा क्रमश १० र १२ रनमा गुमाएको भारतको लागि भाटिया र कप्तान मिथालीले तेश्रो ओभरको लागि १३० रनको साझेदारी गरे । क्रमश ८३ बलमा ५९ रन तथा ९६ बलमा सर्वाधिक ६८ रनको पारी खेलेका भाटिया र मिथाली आउट भए पनि हरमनप्रितले भारतको पारी सम्हालिन ।

अविजित रहेकी हरमनले ४७ बलमा ६ चौका सहित अविजित ५७ रनको पारी खेल्दा उनी विश्वकपमा अष्ट्रेलियाको विरुद्ध सर्वाधिक रन बनाउने ब्याटर पनि बन्न सफल भइन् । त्यस बाहेक भारतको पारीको अन्तिम बलमा आउट हुन पुगेकी  पूजा बस्तारकरले पनि २८ बलमा ३४ रनको योगदान दिइन् ।

अष्ट्रेलियाकी डार्सी ब्राउनले तीन विकेट हात पार्दा एलाना किंगले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल रहिन् ।


 

Click to comment

Trending