Headline

एसिया कप अगस्टमा आयोजना हुने, नेपालले छनोट पनि खेल्न नपाउने 

Published

on

एसियन क्रिकेट परिषद (एसीसी) को आयोजनामा हुने एसिया कप आगामी अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म आयोजना हुने भएको छ । श्रीलंकामा जारी एसीसीको वार्षिक साधारण सभाले प्रतियोगिता ट्वान्टी ट्वान्टी फर्म्याटमा श्रीलंकामा आयोजना गर्ने निर्णय लिएको हो ।

एसिया कपमा पाँच टेस्ट राष्ट्रहरू – आयोजक श्रीलंका, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेश बाहेक छनोटबाट एक टोली गरेर कुल ६ टोलीको सहभागिता रहने छ । एसिया कपको छनोट खेलहरु अगस्ट २० तारिकबाट सुरु हुनेछ ।  

छनोट खेलमा नेपालले भने सहभागिता पाउने छैन । सन् २०२० मा आयोजना भएको एसिया कप छनोट इस्टर्न रिजनबाट नेपाल बाहिरिएको थियो भने कोरोनाका कारण त्यस वर्षको एसिया कप रद्द भएका कारण सोही वर्षमा आयोजना हुने भनिएको छनोटमा पुगेका टोलीले नै यस वर्षको छनोट खेल्ने छन् । यस वर्षको एसिया कपमा प्रवेश पाउनका लागि युएई, कुवेत, सिंगापुर र हंगकंग एक भिड्ने छन् ।

प्रत्येक ट्वान्टी ट्वान्टी र एकदिवसीय विश्वकप अघि आयोजना हुने एसिया कप अघिल्लो पटक सन् २०१८ मा आयोजना भएको थियो र उक्त संस्करणमा भारतले जित हात पारेको थियो । कोरोनाका कारण सन् २०२० मा आयोजना हुने भनिएको ट्वान्टी ट्वान्टी ढाँचाको एसिया कप रद्द हुन पुगेको थियो ।     

सन् २०२० को संस्करण श्रीलंकाले आयोजना गर्ने तय भएको थियो । तर दुई वर्ष सम्म आयोजना हुन नसक्दा यस पटक श्रीलंकाले नै आयोजना गर्ने भएको हो । यस अघि सन् २०२२ को एसिया कप पाकिस्तानले आयोजना गर्ने निर्णय गरिएको भए पनि यस पटकको साधारण सभाले सन् २०२३ मा आयोजना हुने एसिया कप पाकिस्तानले आयोजना गर्ने भएको छ ।   

त्यस्तै साधारण सभाले भारतीय क्रिकेट बोर्डका सचिव जय शाहलाई सन् २०२४ सम्मका लागि अध्यक्ष तथा ओमान क्रिकेट बोर्डका अध्यक्ष पंकज खिम्जीलाई उपाध्यक्ष पनि चुनेको छ ।  

Click to comment

Trending