Headline

बंगलादेशलाई पहिलो पटक दक्षिण अफ्रिकामा ऐतिहासिक जित

Published

on

बंगलादेशले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक दक्षिण अफ्रिकालाई उसकै घरमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ३८ रनले पराजित गर्यो ।

लिटन दास, शकिब अल असन र यासिर अलिले अद्र्धशतक बनाएपछि सेन्चुरियनमा पहिलो ब्याटिँग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाउदै ३ सय १४ रनको बिशाल योगफल खडा गर्न सफल भयो ।

रासि भान डर डुसेन र डेभिड मिलरको विकेटको महत्वपूर्ण विकेट गुमाएपछि दक्षिण अफ्रिका ७ बल बाकी रहेको अवस्थामाा २ सय ७६ रनमा अलआउट भयो । दक्षिण अफ्रिकालाई घरमै बोलाएर श्रृंखला क्लिन स्विप गरेपनि बंगलादेशले यसअघि दक्षिण अफ्रिकामै भने एक खेलमा पनि जित हात पार्न सकेको थिएन ।

३६ रनमै तीन विकेट गुमाएको दक्षिण अफ्रिकालाई भान डर डुसेनले कप्तान टेन्डा बभुमा र मिलरसँग ठूलो साझेदारी गर्दै सम्हालेका थिए ।

तर उनीसँगै मिलर पनि आउट भएपछि बंगलादेशले खेललाई आफ्नो पक्षमा पारेको थियो । भान डर डुसेन र बभुमा (३१) ले चौथो विकेटका लागि ८५ रन जोडेका थिए भने त्यसपछि मिलर र उनीबीच ७० रनको साझेदारी भएको थियो ।

९८ बलको सामना गरेका भान डर डुसेन ९ चौका र एक छक्का सहित ८६ रन बनाउदा टास्किन अहमदको बलमा आउट भए । मिलर ५७ बलमा ७९ रन प्रहार गर्दै मेहदी हसन मिराजको बलमा आउट भए । उनले ८ चौका र तीन छक्का प्रहार गरे ।

बँगलादेशका लागि मिराजले चार र अहमदले तीन विकेट लिए भने शोरिफुल इस्लामले पनि २ विकेट हात पारेका थिए ।

यसअघि उत्कृष्ट शुरुवात पाएको बंगलादेशका लागि कप्तान तमिम इक्बाल र लिटनले पहिलो विकेटका लागि ९५ रन जोडेका थिए । तमिमले ४१ र लिटनले ५० रन बनाए । शकिबले त्यसपछि ६४ बलमा ७७ रन बनाउदै बंगलादेशको बिशाल योगफलको आधार खडा गरेका थिए ।

शकिबले ७ चौका र तीन छक्का प्रहार गरे । यासिरले ४४ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । दक्षिण अफ्रिकाका लागि मार्को यान्सेन र केशव महाराजले २–२ विकेट लिएका थिए ।

Click to comment

Trending