Headline

ब्याटिङ नचल्दा नेपालको लज्जास्पद हार 

Published

on

विश्वकप लिग टु अन्तर्गत युएई विरुद्धको खेलमा ब्याटिङ नचल्दा नेपालले ४८ रनको लज्जास्पद हारको सामना गरेको छ ।

जितका लागि १६९ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा आएको नेपालले ३५ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १२० रन भन्दा जोड्न सकेन ।

नेपालको तर्फबाट अर्धशतक बनाउन चुकेका रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन जोडे भने ज्ञानेन्द्र मल्लले २८ तथा कुशल भुर्तेलले ११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

ओपनरद्वय कुशल र आसिफ शेख (७) तथा दिपेन्द्र सिंह ऐरी (४) मा आउट हुँदा नवौँ ओभरमा २७ रनमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको नेपालको लागि ज्ञानेन्द्र र रोहितले ५५ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । ज्ञानेन्द्रको विकेटको पतन पछि आएका आरिफ शेख शुन्य रनमा आउट भए भने रोहित पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् ।

नेपालले १३ रनको अन्तरालमा पछिल्लो पाँच विकेट गुमाएको हो । नेपाली टोलीका कप्तान सन्दिप लामिछाने सात, सोमपाल कामी र करण केसी समान ६-६, कमल सिंह ऐरी शुन्य रनमा आउट भए भने रनको खाता खोल्न नसकेका सागर ढकाल अविजित रहे ।

नेपाललाई रोक्ने क्रममा बसिल हमिदले पाँच ओभरमा १५ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने जुनैद सिद्दिकीले पनि सात दशमलब एक ओभरमा १८ रन दिएर तीन विकेट आफ्नो नाममा लेखाए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

सुरुवात देखि नै नेपाली बलर हाबी हुँदा युएई ठुलो योगफल बनाउन असमर्थ रह्यो । ११ औँ ओभरमा ३५ रनको अवस्थामा चार विकेट गुमाएर निकै खराब सुरुवात गरेको युएईको लागि रोहन मुस्तफा र सिपी रिजवानले पाँचौं विकेटका लागि ७७ रन जोड्दै तीन अंकको योगफल कटाउन सफल रहे । समान ४०-४० रन बनाएका रिजवान र मुस्तफा क्रमश सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको शिकार बन्न पुगे ।     

नेपाललाई राम्रो सुरुवात दिलाउने क्रममा सोमपालले सुरुवाती तीन   ब्याटरहरु  मोहम्मद वसिम (२१), चिराग सुरी (६) तथा वृत्य अरविन्द (३) लाई पेभेलियनको बाटो देखाए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।

आफ्नो सुरुवाती ओभरमा असिफ खानको विकेट हात पारेका करणले पुछारका दुई ब्याटरलाई पेभेलियनको बाटो देखाउँदा सात दशमलब तीन ओभरमा १६ रन खर्चिएर तीन विकेट आफ्नो नाममा लेखाउन सफल रहे ।

त्यस बाहेक सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले पनि समान १-१ विकेट हात पारे । समान १०-१० ओभर बलिङ गरेका सन्दिप र दिपेन्द्रले क्रमश ३० र ४२ तथा सागरले चार ओभरमा १३ रन खर्चिए ।     

Click to comment

Trending