Headline

नेपाली बलर सामु युएई निरिह, नेपालले पायो १६९ रनको सामान्य लक्ष्य 

Published

on

तीब्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीले घातक बलिङ गरे पछि नेपालले विश्वकप लिग टु अन्तर्गत घरेलु टोली युएई विरुद्धको खेलमा १६९ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

सुरुवात देखि नै नेपाली बलर हाबी हुँदा युएई ठुलो योगफल बनाउन असमर्थ रह्यो । ११ औँ ओभरमा ३५ रनको अवस्थामा चार विकेट गुमाएर निकै खराब सुरुवात गरेको युएईको लागि रोहन मुस्तफा र सिपी रिजवानले पाँचौं विकेटका लागि ७७ रन जोड्दै तीन अंकको योगफल कटाउन सफल रहे । समान ४०-४० रन बनाएका रिजवान र मुस्तफा क्रमश सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको शिकार बन्न पुगे ।     

नेपाललाई राम्रो सुरुवात दिलाउने क्रममा सोमपालले सुरुवाती तीन ब्याटरहरु मोहम्मद वसिम (२१), चिराग सुरी (६) तथा वृत्य अरविन्द (३) लाई पेभेलियनको बाटो देखाए । नौ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।

आफ्नो सुरुवाती ओभरमा असिफ खानको विकेट हात पारेका करणले पुछारका दुई ब्याटरलाई पेभेलियनको बाटो देखाउँदा सात दशमलब तीन ओभरमा १६ रन खर्चिएर तीन विकेट आफ्नो नाममा लेखाउन सफल रहे ।

त्यस बाहेक सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले पनि समान १-१ विकेट हात पारे । समान १०-१० ओभर बलिङ गरेका सन्दिप र दिपेन्द्रले क्रमश ३० र ४२ तथा सागरले चार ओभरमा १३ रन खर्चिए ।     

Click to comment

Trending